काठमाडौँ– प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका सिद्धान्त र प्राथमिकता पेस भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले आइतबारको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस गरेका हुन्।
विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता पेश गर्दै अर्थमन्त्री डा महतले आर्थिक समस्याका बीच आगामी आर्थिक वर्षको बजेटमा दिगो र फराकिलो आर्थिक समुन्नत, सुशासन र प्रभावकारी बजेट ल्याउने गरी बजेटको सिद्धान्त तथा प्राथमिकता तय गरिएको बताएका छन्।
यस्तै रोजगारीको वृद्धि, आर्थिक सुशासन कायम गर्दै समष्टिगत अर्थतन्त्रको विकास गर्न बजेट केन्द्रित हुने उनले बताए। हवाइ सुरक्षा र विमानस्थलको स्तरोन्नति गरिने उनले बताएका उनले सरकार र निजी क्षेत्रको सहभागितामा नयाँ सहर विकास गरिने तथा निर्यातमुखी जलविद्युत परियोजना अगाडि बढाइने उल्लेख गरे। अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण गर्दै जलाशययुक्त परियोजना विकास गरिने पनि उनले बताए।
उपभोग्य वस्तुमा परनिर्भरता कम गराइने र लघु, साना, मझौला उद्योग सञ्चालन गर्न कार्यक्रम ल्याउन आवश्यक कानुन सुधार गरिने प्राथमिकतामा उल्लेख छ।


