काठमाडौँ- प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सत्तामा हिस्सेदारी माग्न कांग्रेस र एमालेसमक्ष नजाने बताएका छन्।
मंगलबार संसदमा विशेष समय लिएर बोलेका माओवादी अध्यक्ष प्रचण्डले आफूहरु झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन नआउन दुवै दलका नेतालाई चुनौती दिएका छन्।
‘कांग्रेस–एमालेका साथीहरुलाई म यही रोष्ट्रमबाट सम्बोधन गर्दछु, प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, तपाईंहरुकहाँ सत्तामा हिस्सेदारी माग्न आउनेछैन,’ उनले भने।
आफूहरु कमजोरीमा खेलेर कांग्रेस र एमाले सीमान्तहरुका प्राप्त अधिकार खोस्न चलमलाउन थालेको उनको दाबी छ।
‘आन्दोलनको पुनर्गठनमा छ। त्यही पुनर्गठनका बलमा भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौं,’ प्रचण्डले चेतावनीको भाषामा भने, ‘पहिला पनि बनाएका हौं। अब पनि बनाउने छौं। त्यतिबेलासम्म कृपया तपाईंहरु मिलिदिनुहोला। बीचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला।’


