काठमाडौँ- नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको मतगणनामा विवाद भएको छ।
तीन जना केन्द्रीय सदस्यलाई मतगणनास्थलमा लगिएपछि विवाद सुरु भएको हो।
नेताहरूले मतगणना स्थलमा होहल्ला गरेका छन्। विवाद साम्य पार्न महासचिव घनश्याम भुसाल खटिएका छन्।
एकीकृत समाजवादीको १७ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्यका लागि मंगलबार मतदान भएसँगै मतगणना सुरु भएको थियो।
अध्यक्ष, सम्मानित नेता र महासचिव चुनेर महाधिवेशन सकिएको करिब डेढ महिनापछि नेकपा एसका पदाधिकारीका लागि मतदान भएको हो।
महाधिवेशन हलले अध्यक्षमा माधकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा भुसाललाई दोहोर्याएको थियो। सर्वसम्मतिका नाममा महाधिवेशनमा चुनावी कार्यक्रम गर्न दिइएको थिएन।
केन्द्रीय सदस्य मात्र मतदाता र उम्मेदवार हुन पाउने मतदानका लागि अध्यक्ष नेपाल पक्षले क-कसलाई भोट हाल्ने भनेर मतदातालाई उम्मेदवारको सूची भएको चिर्कटो बाँढेका थिए। उक्त चिर्कटोमा उपाध्यक्ष उम्मेदवार रामुकुमारी झाँक्रीलगायत नेताको नाम कटाइएको छ।


