ह्युस्टन (टेक्सस)- सोमबार ह्युस्टनस्थित अपार्टमेन्टमा गोली लागेर मृत अवस्थामा २१ वर्षीया मुना पाण्डे फेला परिन्। २ वर्षअघि अमेरिका पुगेकी मुनामाथि कोठाभित्रै तीन गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अुनसन्धानले देखाएको छ।
सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थल पुगेको थियो। वेस्ट एअरपोर्ट ब्लुभर्डस्थित एक अपार्टमेन्टमा मुना बस्दै आएकी थिइन्। उनको अपार्टमेन्टमा राखिएको सीसी क्यामेराका भिडियो फुटेज लिएर प्रहरीले अहिले अनुसन्धान अघि बढाएको छ।
मुना केही समययता अमेरिकी युवकसँग प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानले देखाएको छ। उनको कोठाभित्र पुरुषले प्रयोग गर्ने सामान पनि भेटिएकाले त्यहाँ पुरुष पनि बस्न सक्ने शंका प्रहरीको छ।
मुनाको सुत्ने ओछ्यानमा कट्कटिएको रगत भेटिएकाले शनिबार नै हत्या भएको हुन सक्ने प्रहरीको आकलन छ। मुनामाथि ओछ्यानमै गोली हानेको अनुमान गर्न सकिन्छ। प्रहरीका अनुसार मुनालाई तीनवटा गोली हानिएको थियो।
मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी हुन्। सन् २०२२ को जनवरीदेखि उनले हिलक्रफ्टस्थित काठमाण्डुकरी रेष्टुरेन्टमा करिब एक वर्ष काम गरेकी थिइन्। काठमाण्डुकरीका संचालक रामकृष्ण सापकोटाका अनुसार इमान्दार र ग्राहक सेवामा मुना अब्बल थिइन्। मुनाले काठमाण्डुकरी छोडेपछि पनि धेरैसम्म ग्राहकले मुनालाई खोजिरहेका हुन्थे।
मुनाकी आमा काठमाडौँ बस्दै आएकी छन्। माता-पिताको सम्बन्धविच्छेद भइसकेकाले अमेरिका प्रस्थान गर्नुअघि मुना आमासँग बस्दै आएकी थिइन्। एकल आमाले हुर्काएकी मुना एक्ली सन्तान हुन्।
सोमबार साँझ मात्र मुनाको शव भेटिएको हो। स्थानीय अधिकारीहरुसँग सम्पर्कमा रहेका स्थानीय नेपाली संस्था नेप्लिज एसोसियसन अफ ह्युस्टनका पूर् अध्यक्ष डा विष्णु नेपालका अनुसार मुनाको शवलाई पोस्टमार्टमका लागि अस्पताल लगिएको छ। अस्पतालले पोस्टमार्टम प्रक्रिया पूरा गरेर केही दिनमा शव हस्तान्तरण गर्ने बताएको छ।
छोरीको मृत्यु भएको खबर पाएकी मुनाकी आमाले अन्तिम संस्कारमा सहभागी हुनका लागि अमेरिका जाने तयारी गरेकी छन्। उनलाई अमेरिका ल्याउनका लागि अमेरिकामा रहेका आफन्त र नेपालीहरुले सहयोग गर्ने भएका छन्।
पारिवारिक स्रोतका अनुशार मुना सुरुमा नेपालबाट गएको साथीसँग बस्दै आएपनि पछि अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन्। मुनाले प्रेमीसँग घुम्न गएका फोटो र भिडियोपनि आमा अनितालाई पठाउने गरेकी थिइन्। तर बीचमा भने उनीहरुबीच सम्बन्ध राम्रो नभएको समेत मुनाले आमालाई सेयर गरेको बताइएको छ।
आमा अनिताले हत्यारा पत्ता लगाउन आग्रह गरेकी छिन् भने मुनाको न्यायका लागि सघाउन अमेरिकामा रहेका नेपालीहरुलाई अनुरोध समेत गरेकी छिन्। ४ दिनदेखि छोरी मुनाको मोबाइल अफ रहेको र पहिले पनि बेलाबेलामा अफ हुने गरेकाले कतै घुम्न गएको होला भन्ठानेको उनको भनाइ छ। नेपालको भोजपुरकी मुना ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत थिइन्।


