काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठुलो योगदान रहेको बताएका छन्।
शनिबार काठमाडौँमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले क्याप्टेन रामेश्वर थापाले आफू र प्रधानमन्त्री ओलीलाई नजिक ल्याउने काम गरेको बताएका हुन्।
‘उहाँले पहिल्यैदेखि मलाई व्यक्तिगत रूपमा पनि धेरै ठुलो मद्दत गर्नुभएको छ। पार्टीलाई पनि। यस कारण रामेश्वर थापाजीलाई केपी शर्मा ओलीको पार्टीको नजिकको भनेतापनि उहाँ सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्ति हो। मैले त्यसै रूपमा लिएको छु। यो कुरा लुकेर लुक्ने कुरा छैन,’ उनले भने, ‘ओलीजी र मेरोबीचमा नजिक ल्याउने काममा, यो गठबन्धन बनाउने काममा पनि उहाँको धेरै ठूलो योगदान छ। धेरै ठुलो मद्दत गर्नुभएको छ। यस कारण म हाम्रो पार्टीको तर्फबाट हार्दिक–हार्दिक धन्यवाद दिन चाहन्छु।’
उनले क्याप्टेन थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीनिकटको व्यक्ति भनेर चिनिने भए पनि थापा सबैलाई सहयोग गर्ने मान्छे भएको उल्लेख गरे।
यसअघि बोलेका प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल अब १ वर्ष १० महिना १५ दिन बाँकी रहेको बताएका थिए। उनले कोही पनि व्यक्तिले चाहँदैमा सबै कुरा पूरा नहुने बताए।
‘मलाई मन नपराउनेका लागि खुसीको खबर भनिदिन्छु,’ ओलीले भनेका थिए, ‘अब प्रधानमन्त्रीका रुपमा यसपटक मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिन बाँकी छ।’
उनले आफूले सात दिन अगावै राजीनामा दिएर बाहिरिने प्रतिवद्धता दोहोर्याए। नेपाली कांग्रेससँगको सहकार्यमा ओली असार ३१ गते ओली प्रधानमन्त्री भएका हुन्। दुई दलबीच दुई वर्षपछि सरकारको नेतृत्व कांग्रेसले गर्ने समझदारी छ।


