काठमाडौँ- अटोमोबाइल क्षेत्रको महाकुम्भ मेला नाडा अटो शो २०२४ सम्पन्न भएको छ। भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको अटो शो आज सम्पन्न भएको हो।
यस पटकको अटो शोमा २३ वटा चारपाङ्ग्रे, १८ वटा मोटरसाइकल तथा स्कुटर र १४ वटा लाइट कमर्शियल गरी ५५ ब्राण्डले सहभागिता जनाएका थिए। साथै, २६ वटा कम्पोनेन्ट कम्पनी, ७ वटा बैंक तथा वित्तीय संस्था र एउटा बीमा कम्पनीको सहभागीता थियो।
यस वर्ष अटो शोमा विद्युतीय सवारी साधनको वर्चश्व रहेको थियो। अटो शोमा १९ लाखदेखि डेढ करोड बढी रुपैयाँका कारहरू प्रदर्शनीमा राखिएको थियो। त्यस्तै, दुईपाँग्रेतर्फ इलेक्ट्रीक स्कुटरदेखि एड्भेन्चर मोटरसाइकल समेत प्रदर्शनीमा थिए।
अटो शोमा २ हजार बढी गाडी बुकिङ भएका छन् भने ७५ हजार बढीले अवलोकन गरेको नाडाले जनाएको छ।
अटो शोमा सुजुकी, हुन्डाई, टाटा, किया, महिन्द्रा, एमजी, बीवाइडी, ओमोडारजेको, काई, लिप मोटर्स, रेडारा, आयोन, नेटा, जीकर, एक्सपेङ, अवतार, नामी, सेरेस, दिपल, स्काइवेल, हेनरी र बीएडब्लूले चार पाङ्ग्रे सवारी साधान प्रदर्शनी गरेका थिए।
मोटरसाइकल ब्राण्डको सहभागिता पनि यस वर्ष निकै राम्रो देखिएको छ। चल्तीका बजाज, यामाहा, टीभीएस, हिरो, सुजुकी, रोयल इनफिल्डसहित सीएफ मोटो, गोगोरो, ग्यारो, जीहो, इलेक्ट्रीक वान, जोनसेन, ट्रायम्फ, एथर, एनआईयू, याडिया, बेनेली, भेस्पा, बीएमडब्ल्यू जस्ता ब्राण्डले सहभागिता जनाएका थिए।
लाइट कमर्शियलमा सेग्मेन्टमा केवाइसी, किङलङ, कामा, हाइगर, डोङफेङ, सीएचटीसी, हालमर्भ जस्ता ब्राण्ड सहभागी थिए।
अटो शोमा छुट्टाइएको ४ क्याटगोरीमा पहिलो हुने स्टलहरुलाई अवार्ड प्रदान गरिएको छ। जसमा कम्पोनेन्टबाट भिडोल, लाइट कमर्सियलमा सोकोन, टु ह्वीलर्समा एथर र चार पाङ्ग्रेबाट रेडाराले अवार्ड हात परेका छन्।


