काठमाडौँ– नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न विशेष साधारण सभाले अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो।
साधारणसभाले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्तावहरू सर्वसम्मत रुपमा पारित गरेको जानकारी बैंकले दिएको छ।
बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजीको माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न अग्राधिकार सेयर जारी गर्न लागिएको हो।
विशेष साधारण सभामा बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पुर्याउनमा सेयरधनी लगायत सरोकारवाला पक्षहरूबाट विगत लामो समयदेखि सराहनीय योगदान प्राप्त भए जस्तै यस उपकरणलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरेको बताए।
आगामी वर्षहरूमा समेत आ–आफ्नो स्थानबाट बैंकको उचाइलाई थप बढाउनेतर्फ सेयरधनी लगायत सरोकारवाला पक्षहरूको महत्वपूर्ण योगदान रहनेछ भन्नेमा पनि बैंक विश्वस्त रहेको उनले सभामा जानकारी गराए।
विगत चार दशकदेखि गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समयमा दीगो बैंकिङ्गको अवधारणालाई अत्मसात् गरेको छ भने डिजिटल बैंकिङ्गको लागि एनबैंक सञ्चालनमा ल्याएको छ। यसले क वर्गका बैंकहरूमध्ये आफूलाई नेपालको अब्बल वाणिज्य बैंकको पहिचानलाई निरन्तरता दिन सफल भएको छ।
के हो अग्राधिकार सेयर?
कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको सेयरलाई अग्राधिकार सेयर भनिन्छ।कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण सेयरवालाको भन्दा अग्र अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार सेयर भनिएको हो।
कम्पनी खारेजीमा जाने भएमा पनि आफ्नो लगानी र सञ्चित लाभांश प्राप्त गर्ने सम्बन्धमा अग्राधिकार सेयरवालाको अधिकार अघि आउँछ। यसै कारण अग्राधिकार सेयरमा गरिने लगानीलाई तुलनात्मकरुपमा कम जोखिमपूर्ण मानिएको छ।
सम्बन्धित कम्पनीले कुनै वर्ष नाफा आर्जन गर्न नसकेमा अग्राधिकार सेयरवालाहरुले तोकिएको दरमा लाभांश प्राप्त गर्न सक्दैनन्। अर्कोतर्फ कम्पनीले जतिसुकै नाफा आर्जन गरेता पनि अग्राधिकार सेयरवालाहरुले तोकिएको दरभन्दा बढी लाभांश प्राप्त गर्न सक्दैनन्।
यस प्रकारको अग्राधिकार सेयरमा गरिने लगानीमा जोखिम पनि कम र प्रतिफल पनि कम हुन्छ। अग्राधिकार सेयरवालाहरुले आफ्नो हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा बाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउँदैनन्। अग्राधिकार सेयरलाई मिश्रित प्रकृतिको धितोपत्रको रुपमा लिइन्छ किनभने यसमा साधारण सेयर तथा डिबेञ्चर दुवैको विशेषता हुन्छ।
अग्राधिकार सेयरहरु सञ्चयशील (कुनै वर्ष कम्पनी नोक्सानमा गई लाभांश भुक्तानी गर्न नसक्दा लाभांश सञ्चय भै आगामी वर्षको नाफाबाट भुक्तानी गर्नुपर्ने) वा असञ्चयशील, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशील (निश्चित समयावधि पछि साधारण सेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन्।
नबिलले ल्याउन खोजेको अग्राधिकार सेयर अविमोच्य असञ्चिति अग्राधिकार सेयर हो। संस्थागत लगानीकर्तामा मात्र यो सेयर व्यक्तिगत तवरबाट जारी गरिनेछ।
नेपाली पूँजी बजारका लागि नवीनतम उपकरण भएकाले नेपाल राष्ट्र बैंकले यससम्बन्धी व्यवस्था गरे पश्चात् नबिल बैंकले नै पहिलो पटक विशेष साधारणसभाबाट पारित गरेर जारी गर्न लागेको हो।
सम्बन्धित नियामकीय निकायहरूको अन्तिम स्वीकृति पश्चात् कुनै संशोधन वा थप परिमार्जन आवश्यक भएमा सो समेत गरी ‘अग्राधिकार सेयर’ जारी हुनेछ।


