काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी सुरु गरेको जानकारी दिएकी छन्।
हालै भारत भ्रमण सम्पन्न गरेर फिर्ता भएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो दिएकाले भारतीय प्रधानमन्त्री मोदीले नेपाल आउने तयारी सुरु गरेको जानकारी दिएकी हुन्।
भारतीय प्रधानमन्त्री मोदीलाई आफूले निम्तो दिएलगत्तै मोदीले त्यसको तयारीका लागि सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिएकोसमेत देउवाले बताएकी हुन्।
मंगलबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा देउवाले मोदीसँगको शिष्टाचार भेटमा दुई मुलुकबिचको आपसी सम्बन्धलाई अझै उचाइमा पुर्याउने विषयमा जोड दिएको पनि स्पष्ट पारिन्।
‘भारत भ्रमणको क्रममा मैले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको तर्फबाट भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई व्यक्त गर्नुभएको न्यानो अभिवादन शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि उहाँले दिनुभएको नियन्त्रणालाई पनि औंपचारिक रुपमा हस्तान्तरण गरेँ,’ उनले भनिन्, ‘त्यसको उहाँले सहर्ष स्विकार गरेर आफ्नो टीमलाई भ्रमणको एउटा टाईम बनाउनु भनेर त्यही बेलामा आदेश पनि गर्नुभएको थियो।’


