काठमाडौँ- नेपाल पर्यटन बोर्डको सीइओमा तीन जनाको नाम सिफारिस गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय ‘कार्यकारी प्रमुख छनौट उपसमिति’ले अन्तिम १४ जना उम्मेदवारमध्येबाट तीन जनाको नाम सीईओका लागि प्रस्ताव गरेको हो।
पूर्वसीईओ दिपकराज जोशी, निवर्तमान सीईओ धञ्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो छन्। पर्यटन सचिव समितिले बिहीबारै सीईओ छनौट गर्नेछ।
तत्कालीन सीईओ धनञ्जय रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड सीईओविहीन थियो।
०८० चैत २४ मा सीइओकालागि दर्खास्त आह्वान गरेको थियो। बोर्डको सीईओकालागि पर्यटन क्षेत्रमा कम्तीमा १० वर्ष संलग्न भएको र स्नातकोत्तर उत्तीर्ण गरेको मापदण्ड राखिएको थियो।
बोर्डले सीईओका लागि त्यहीँका कर्मचारी हिक्मतसिंह ऐर, श्रद्धा श्रेष्ठ, सन्तोषविक्रम थापा, लक्ष्मण गौतम र नवीन पोखरेलले पनि निवेदन दिएका थिए। विजय नेपाल, पदम वन, ठाकुर देवकोटा, राजाराम केसी, ज्ञानिन राई, ज्ञानेश्वर महतो,सुर्य बहादुर घिमिरे, ज्ञानेन्द्र अधिकारी, दिपक बास्ताकोटी, चक्सु मल्ल, कमल डोधरी, रामचन्द्र सेढाई, रामराजा गिरिले आवेदन दिएका थिए। त्यस्तै बोर्डका निर्वतमान सीइओ डा. धन्ञ्जय रेग्मी र पूर्वसीइओ दीपकराज जोशीसहित २० जनाले निवेदन दिएका थिए।


