काठमाडौँ- लुम्बिनी प्रदेशका कांग्रेस सांसद धनबहादुर केसी ३३ वर्ष पहिले आएको फैसलाअनुसार कारागार चलान भएका छन्।
आइतबार रुकुमपूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेपछि उनलाई प्रक्रिया पुर्याएर कारागार चलान गरिएको रुकुमपूर्वका डीएसपी माधव खरेलले जानकारी दिए।
३३ वर्ष पहिले धनबहादुरविरुद्ध श्रीमतीले मुद्दा दायर गरेकी थिइन्।
श्रीमतीले दायर गरेको मुद्दामा उनले कीर्ते गरेको आरोपमा दोषी ठहर गर्दै साविक रुकुम जिल्ला अदालतले फैसला गरेको थियो।
उनीमाथि एक वर्ष कैद र दुई हजार जरिवाना गर्नुपर्ने फैसलामा उल्लेख थियो।
उक्त फैसला २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो।
तर केसीले सजाय भुक्तान गरेका थिएनन्। न त जरिमाना नै तिरे।
लामो समयदेखि फरार रहँदै आएका उनलाई प्रहरीले पक्राउ पनि गरेन।
उनी गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।


