काठमाडौँ- कीर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएका छन्।
कैदको सट्टामा रकम तिरेर सोमबार केसी रिहा भएको जिल्ला अदालतका निमित्त श्रेस्तेदार राधाकृष्ण रिजालले जानकारी दिए। आइतबार उनले अदालत पुगेर आत्मसमर्पण गरेका थिए।
फौजदारी अपराध संहिता २०७४ को दफा १५५ अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान छ।
उक्त व्यवस्थाअनुसार १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर रिहा भएका हुन्।
रुकुम पूर्वबाट निर्वाचित कांग्रेस सांसद केसीलाई ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहर भई अदालतले जेल चलान गर्न आदेश दिएको थियो।
२०४८ असार ९ मा तत्कालीन रुकुम जिल्ला अदालतले कागजात किर्ते मुद्दामा केसीलाई एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
सम्बन्धविच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले दिएको जाहेरीमा मुद्दा चलेपछि उनी दोषी ठहर भएका थिए।
