काठमाडौँ- नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङले आफूमाथि कुनै शंका भए तुरुन्तै छानबिन गर्न माग गरेका छन्। मितेरी सहकारीबाट भएको रकम अपचलनका विषयमा आफूमाथि आरोप लागेकोले उनले छानबिनको माग गरेका हुन्।
‘मितेरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न संस्थाका अध्यक्ष, प्रबन्ध निर्देशक, सञ्चालक समितिका सदस्यहरू, क-कसलाई छानबिन गर्नु पर्ने हो तुरून्तै छानबिन गरियोस्,’ प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले गुरुङले भने, ‘यदि यस विषयमा कुनै आशंका छ भने तुरून्तै ममाथि छानबिन गरियोस्, गल्ती गर्ने व्यक्तिलाई उन्मुक्ति दिनु हुँदैन।’
उनले आफू खुला किताब भएकाले निष्पक्ष छानबिनको माग गरे। ‘धनराज गुरूङ खुला किताब हो, सभामुख महोदय जसले जताबाट अनुसन्धान थाले पनि हुन्छ,’ ज्योति गुरुङसँग सम्बन्धविच्छेद भएको विषयलाई नक्कली भन्दै विषयान्तर गर्न खोजिएको भन्दै उनले चुनौती दिए, ‘घर परिवारमा दरार आएपछि १० वर्षे बच्चा हुर्काउनुपर्ने पीडा म आफैसँग छ। सम्बन्धविच्छेदपछि पूर्वश्रीमतीबारे जानकारी हुने कुरै भएन। केही सांसदले भनेजस्तै म संसदीय छानबिनका लागि पनि तयार छु।’
आफू प्रमाण लुकाउन सक्ने ठाउँ नभएको बताएका उनले निष्ठा र नैतिकतामा विश्वास गर्ने बताए। ‘मेरामाथि लागेको आरोपमा छानबिन गर्न सभामुख, गृहमन्त्रीलाई आग्रह गर्दछु,’ उनले भने, ‘विगतमा पनि कुनै आरोप लाग्दा अदालतबाट निर्दोष प्रमाणित भएको स्मरण गराउँदछु।’
सहकारी ठगीसम्बन्धी प्रतिवेदन आउनै लाग्दा विषयबस्तुलाई अन्यत्रै मोड्न आफूमाथि आरोप लागेको उनको दाबी थियो।


