काठमाडौँ- नेपाल पर्यटन बोर्डमा प्रक्रिया मिचेर कार्यकारी प्रमुख नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ।
कार्यकारी प्रमुखमा उम्मेदवार रहेका धनञ्जय रेग्मीले मंगलबार रिट दायर गरेका हुन्।
मंगलबार रेग्मीले वारेस भुवन झाँक्रीमार्फत् अदालतमा रिट दायर गरेका हुन्। उनले नेपाल पर्यटन बोर्डसहित ७ जनालाई विपक्षी बनाएका छन्।
रेग्मीले आफूलाई कार्यकारी पदमा नियुक्त नगरी आफूभन्दा कम प्राप्तांक प्राप्त गर्ने दीपकराज जोशीलाई नियुक्त गरिएको भन्दै रिट दायर गरेका हुन्।
रेग्मीले जोशीको नियुक्ति र नियुक्तिपत्र समेत बदर गरी आफूलाई नियुक्ति दिलाउनु भनी परमादेश दिन सर्वोच्चसँग माग गरेका छन्।
भदौ २० गते कार्यकारी समिति समक्ष भएको परीक्षामा समेत सामेल भई उत्कृष्ट अंक ल्याएका तीन जना आवेदकको नाम सिफारिस गर्ने प्रावधान भएको र त्यसमा आफू सूचीको पहिलो नम्बरमा परेको हुनाले आफू नै कार्यकारी प्रमुख हुनुपर्ने रेग्मीको दाबी छ।


