पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीपीडितले आफूलाई ‘टार्गेट’ गरेर अपराध गरेको टिप्पणी गरेका छन्। अरुले नै उचालेका भरमा आफूविरुद्ध आन्दोलन गरेर अपराध गरेको उनको भनाइ थियो।
मंगलबार पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकमा उनले आफू अपराधमा संलग्न नै नभएको तर आफ्नैविरुद्ध आन्दोलन गरिएको बताए।
‘कस्तो सघर्ष समिति हो, अपराध गर्दै हुनुहुन्छ तपाईहरु, लाखौं सहकारी पीडितमाथि अन्याय गर्दै हुनुहुन्छ, गलत मान्छेलाई टार्गेट गरेर’, उनले भने।
मंगलबार रास्ववाको कार्यक्रमस्थलबाहिर सूर्यदर्शन सहकारीका पीडितले प्रदर्शन गरेका थिए। ‘सहकारी पीडितको लागि लड्नुभएको छ भने मेरो सलाम छ, तर जो मान्छे अपराधमा संलग्न छैन, उसैलाई कसैले उक्साएको भरमा दोषी झैं गरी तपाईंहरुले विरोध गर्नुभएको छ’, उनले भने।
आफूमाथि पूर्वाग्रह राख्नेहरुले, राजनीतिक दाउ सेक्नेहरुले सहकारी ठग भनेको रवि लामिछाने हो भनेर भाष्य सिर्जना गरेर सहकारी पीडितमाथि अन्याय गरेको दाबी गरे।
गोर्खा मिडिया प्रालिमा हुँदा संस्थामा कसरी रकम आइरहेको छ भन्नेबारे आफूलाई थाहा नभएको उनको जिकिर छ। तर गोर्खा मिडियामा गतल तरिकाले रकम आएको कुरा सोमबार धनगढी पुगेर उनले स्वीकार गरेका थिए।
‘दिनदिनै लगानीकर्ताले सहकारीबाट ल्याएर पैसा हाल्यो कि, खल्तीबाट हाल्यो कि, चेक हाल्यो कि तपाईलाई जतिखेर थाहा भयो त्यतिखेर मलाई पनि थाहा भयो। म एकाउन्टेन्ट होइन, लगानीकर्ता होइन, म सञ्चारकर्मी हो,’ सहकारी पीडिहरूतर्फ संकेत गर्दै उनले भनेका थिए, ‘सहकारीको पैसा जसले लग्यो ऊ नै दोषी हो। अरुले गरेको फोहोरको जिम्मा मैले लिनुपर्छ भन्ने छैन।’


