काठमाडौँ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको सन्दर्भमा अहिले पनि व्यापक अध्ययन र अनुसन्धान हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
बीपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा पेसागत तथा बुद्धिजीवी विभाग, नेपाली कांग्रेसले आयोजना गरेको ‘बीपीको समाजवाद : आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्री देउवाले बीपी कोइरालाले कुनै समयमा बोलेको विषय समयानुकूल परिवर्तन हुँदै जाने बताउँदै बीपीका बारेमा समयअनुसार खोज/अनुसन्धान गरी त्यसलाई विश्वसामु पुर्याउनुपर्ने बताए।
बीपी कोइरालाले छोडेको प्रजातान्त्रिक पद्धति र प्रजातान्त्रिक समाजवादलगायत विषयलाई आत्मसात् गर्दै अबका युवा पुस्ताहरु अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।
सभापति देउवाले भने, ‘समाजवाद मात्र होइन, प्रजातन्त्रसहितको समाजवाद हो। जसमा मानवीय मूल्य, मान्यता, मानवअधिकार सबैभन्दा महत्त्वपूर्ण कुरा हो।’ प्रजातन्त्रविहीन समाजवाद हुन नसक्ने उनको भनाइ थियो।
‘कतिपय कुराहरु समयअनुसार परिवर्तन पनि हुन्छ, उतिबेला बीपी कोइरालाले गाई पाल्ने कुरा गर्नुभएको थियो। उतिबेला बाटो थिएन, तर अहिले गाउँका घरघरमा बाटो पुगेको छ, बिजुली पुगेको छ, बत्ती पुगेको छ। त्यसैले आजको दिनमा गाई पाल्नेभन्दा पनि डेरीबाट दूध वितरण गर्न सकिन्छ, डेरीबाटै घीउ उपलब्ध गराउन सकिन्छ’, उनले भने।
बीपी कोइराला हरेक विषयको ज्ञाता भएको बताउँदै उनले राजनीतिसँगै बीपीले नेपाली साहित्यको क्षेत्रमा समेत अतुलनीय योगदान पुर्याएको टिप्पणी गरे।
‘बीपी कोइराला साहित्यमा पनि उत्तिकै दक्खल भएको व्यक्ति हो, नेपालमा उहाँ जत्तिको साहित्यकार विरलै पाइन्छ। राजनीतिमा त पूरै दक्खल भएको व्यक्ति हो। त्यसकारणले मैले उहाँलाई सानो देशको ठूलो नेता भनेको हो,’ उनको भनाइ छ।
यसअघि साउन ६ गते कांग्रेस केन्द्रीय पुस्तकालयको उद्घाटन गर्दै सभापति देउवाले पनि यही विषय उल्लेख गरेका थिए।
कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै कांग्रेस पार्टीले बीपीको विचारलाई पछ्याउँदै अगाडि बढ्नुपर्ने बताए।
‘बीपीको समाजवाद भनेको व्यक्तिको स्वतन्त्रता हो, उहाँ चिन्तक मात्रै होइन, पार्टीको नेता पनि हुनुहुन्थ्यो। बीपीबाट नयाँ पुस्ताले अझ बढी सिक्नुपर्छ, युवाले बीपीबारे अध्ययन गर्नुपर्ने छ,’ उनको भनाइ छ।
महामन्त्री थापाले आजको सन्दर्भमा स्वदेशमै रोजगारी सिर्जना गरी लाखौँ युवालाई रोजगारी दिँदा मात्रै बीपीको सान्दर्भिकता झल्किने बताए।


