काठमाडौँ- नेकपा एकीकृत समाजवादीले उपसभामुख इन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ।
बुधबार स्थायी कमिटीको बठकले यस्तो निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए।
यस्तै नेकपा माओवादी केन्द्रले पनि उपसभामुखलाई हटाउने कदम चालिएर प्रतिवाद गर्ने कुरा संसदबाटै बोलिसकेको छ।
रास्वपा सांसद मनिष झाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले उपसभामुख इन्दिरा रानामगर जानाजान गल्ती नगरेकाले उनलाई क्षमा दिन माग गरेका छन्।
‘१९ महिना पहिले उपसभामुखज्युले एउटा पत्र लेख्नुभयो। उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो। जसको बारेमा उहाँले म बाट गल्ती भयो भनेर विज्ञप्ति पनि निकालिसक्नुभयो,’ उनले भने।
गल्ती स्वीकार गरिसक्दा समेत यसलाई राजनीतिक रुपमा बार्गेनिङ गरिनु गलत भएको उनको भनाइ छ।
उक्त पत्र अनधिकृत भएको भन्दै कांग्रेस र एमालेले उनको राजीनामा माग गर्दै आएका छन्।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो आग्रह गरेको हो।
उपसभामुखमाथि प्रश्न उठेकाले मार्गप्रशस्त गर्न उपयुक्त हुने कांग्रेसको निष्कर्ष छ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका यो विषयमा सत्ता गठबन्धनको साझा धारणा बनाएर अघि बढ्नेसमेत निर्णय भएको बताए।
यो विषयमा कांग्रेस संसदीय दलले आधिकारिक धारणा बनाउने समेत घिमिरेको भनाइ छ।
‘उहाँ (उपसभामुख इन्दिरा रानामगर)माथि गम्भीर प्रश्न उठेको छ। उहाँले त्यस्तो कुनै सिफारिस गर्न मिल्दैन,’ उनले भने, ‘त्यसले संसदलाई नै अपमानित गरेको छ। यसले मुलुकको शिर झुकाएको कांग्रेसको बुझाइ छ।’
एमालेका सांसदहरूले मंगलबारदेखि यो विषयमा सदनमा बोल्दै राजीनामा माग गरिरहेका छन्।
संसद सचिवालयसँग सम्बन्धित नरहेका ६ व्यक्तिलाई अमेरिका पठाउन भिसा अन्तर्वार्ता मिति मिलाइदिन भन्दै संसदको लेटरहेडमा उपसभामुखले दूतावासलाई पत्र लेखेकी थिइन्।


