काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले खादामाला नल्याउन हवाई यात्रु तथा उनीहरूका आफन्तलाई अनुरोध गरेको छ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा यात्रु र आफन्तले खादामाला लगाउने गरिएकाले त्यसलाई रोक लगाउन विमानस्थलको अनुरोध छ।
‘हवाई यात्रुले लगाएर आउने खादामाला वा झोलामा बाँधेर ल्याउने खादाले सुरक्षा जाँचका क्रममा विमानस्थलका सुरक्षा उपकरणहरूमा गम्भीर क्षति पुर्याइरहेको छ,’ कार्यालयले अपिलमा भनेको छ, ‘यसले विमानस्थलको सौन्दर्यतामा पनि नकारात्मक असर पुगेको छ।’
खादामाला एक्स-रे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किने गरेको र त्यसले उपकरणलाई गम्भिर क्षति पुर्याएको दाबी कार्यालयको छ।
गत भदौ १४ गते विमानस्थलमा सुरक्षा जाँचमा खटिएका प्रहरीले विदेश जान घर परिवार तथा आफन्तहरूबाट बिदाइ भएका एक यात्रुलाई खादा खोल्न लगाएका थिए। सो विषयमा सार्वजनिक रूपमा आलोचनासमेत भएको थियो।


