काठमाडौँ- नेपाल हज समितिले हजका लागि गएका नेपालीहरुलाई बचत रकम फिर्ता गर्ने भएको छ। समिति सचिवालयले सूचना जारी गर्दै यसपालि हजयात्रामा गएकाहरूलाई प्रतिव्यक्ति २३ हजार ४०० रुपैयाँका दरले फिर्ता गर्न लागिएको जानकारी दिएको हो।
हजमा जानेहरूबाट समितिले प्रतिव्यक्ति ४ लाख १५ हजार रुपैयाँ संकलन गरेको थियो। तर, अनुमान गरे भन्दा खर्च कम भए पछि रकम फिर्ता गर्न लागिएको हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाले जानकारी दिए।
‘रकम फिर्ता गर्नका लागि हामीले खाता नम्बर टिपाउन सूचना जारी गरेका छौँ। खाता नम्बर प्राप्त भएपछि हामी अनलाइनबाटै सम्बन्धित व्यक्तिको खातामा भुक्तानी गरिदिन्छौँ,’ उनले भने।
यसपालिको हज यात्रीलाई पठाउने काम सफलतापूर्वक सम्पन्न भएको समेत मियाले बताए। ‘यो वर्ष हामीले हज यात्रीलाई मक्का नजिक राख्न सफल भयौँ। खानाको मेनुमा पनि धेरै परिवर्तन ल्यायौँ। बसाई अवधिमा यात्रुलाई कुनै पनि कठिनाई हुन नदिनका लागि साउदी सरकार, साउदी स्थित नेपाली दूतावाससँग सहकार्य गर्यौँ। बचेको रकम समेत फिर्ता गर्ने निर्णय भएको छ’, उनले भने।
यस पटक सचिवालयले सबै व्यवस्थापन चुस्त राख्न सफल भएको उनले बताए। त्यस्तै, नेपालबाट हज यात्रामा जान थालेको ६१ वर्ष भयो। यो अवधिमा कमिटिले पहिलो पटक यात्रीलाई धेरै रकम फिर्ता गर्न सफल भएको उनको दाबी छ।
यो वर्षको हज यात्राको लागि नेपालले १२०० कोटा पाएको थियो। तर, जम्मा ७६४ जना मात्रै हज यात्रामा सहभागी भएका थिए।
आगामी वर्षको हज यात्राको लागि निवेदनको आह्वान
हज समितिले आगामी वर्षको हज यात्राको लागि आवेदन माग गरेको छ। आगामी वर्षको लागि पनि नेपालले १२०० कोटा प्राप्त गरेकाले सोही संख्यामा प्राथमिकताका आधारमा छनौट गरी पठाइने हज कमिटीका सदस्य सचिव झन्कनाथ ढकालले बताए। साउदी अरबले सम्बन्धित मुलुकमा रहेका मुस्लिम समुदायको संख्याको आधारमा कोटा तोक्दै आएको छ।
त्यस्तै, आगामी वर्षको हज यात्राको अवधि छोट्याउने कमिटीको योजना छ। ४४ दिनसम्म हुने हज यात्रा ३२ दिनमा छोट्याउन सकिने पाइएपछि छोट्याउने तयारी थालिएको हो।
त्यस्तै कमिटिले हज यात्राको कार्यविधि शंसोधन गरी हज यात्रीले जम्मा गरेको रकमबाट प्राप्त व्याजलाई आकस्मिक खर्चमा प्रयोग गर्न सकिने व्यवस्था गर्न लागिएको उनले बताए। ‘यात्रामा विभिन्न समस्या हुन्छन्। अचानक पर्ने समस्याको खर्चका लागि हामीसँग छुट्टै बजेट हुँदैन। यता यात्रीले जम्मा गरेको रकमबाट केही ब्याज पनि आउछ। त्यसैले त्यो ब्याज रकमलाई आकस्मिक खर्चमा प्रयोग गर्ने गरी कार्यविधि शंसोधन गर्न प्रस्ताव गरेका छौँ,’ उनले भने।
नेपाल हज सचिवालयले हज यात्रामा जाने यात्रुको लागि मेडिकल टिमको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ।
हजको लागि साउदी जाने प्रत्येक मुलुकसँग छुट्टै मेडिकल टिम नै हुन्छ। यात्रु बस्ने अस्पतालमा प्रत्येक मुलुकले अस्पताल नै सञ्चालन गरेका हुन्छन्। तर, नेपालले भने त्यस्तो केही व्यवस्थापन नगरेको भन्दै उनले दुख व्यक्त गरे।


