काठमाडौँ- प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूले कुनै गल्ती नगरेकाले राजीनामा दिने सोच नबनाएको बताएकी छन्।
आफूलाई हटाउन खोजिएको विषयमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेको तर ओलीले त्यो कुरा बजारको हल्ला मात्र भएकाले कुराकानी गर्न नपर्ने बताएको कुरा रानाले उल्लेख गरेकी छन्।
शुक्रबार बसेको संवैधानिक परिषदको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उपसभामुख राना यस्तो बताएकी हुन्।
‘मेरो अन्तर्राष्ट्रिय छवि छ। कयौं बालबालिका हुर्काएको छु। न त त्यो चिठी दूतावासमा गएको छ, न त उनीहरू नै अमेरिका गएका छन्। वास्तवमा चिठी दर्ता नै भएको छैन। त्यसलाई लिएर यस्तो आयो भन्ने कुरा राखेँ,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले तपाईं संवैधानिक परिषदको सदस्य हो। बजारको हल्लाबारे कुरा नगरौं भन्नुभयो। बजारको कुरा बजारमै छाडौं भन्नुभएको छ।’
यस्तै, आफूले गल्ती नगरेको हुँदा राजीनामाबारे कुनै सोच नभएको उनको भनाइ छ।
तर उता नेकपा एमालेले भने संस्थागत रुपमा निर्णय गर्दै उपसभामुखको राजीनामा माग गरेको छ।
पार्टीको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले बाहिर आएको पत्र सत्य भए उपसभामुख पदमा बस्न नमिल्ने बताएका हुन्।
उनले उपसभामुख र सम्बन्धित दलले त्यसबारेमा स्पष्टीकरण दिनुपर्ने बताए।
उता सरकारको सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि उपसभामुखलाई राजीनामा दिन सुझाएको छ।
प्रतिनिधि सभाको बैठकमा लगातार उपसभामुखको राजीनामाको विषय उठिरहेको छ।
रास्वपा र माओवादीले भने उपसभामुखलाई हटाउन खोजे प्रतिवाद गर्ने चेतावनी दिएका छन्।


