रामपुर– सखारै पिँठ्युमा कपडा बोक्नु अनि व्यापारका लागि गाउँ पस्नु। जुम्लाका ‘काफ्ले बा’ दिनको सुरुवात यसरी नै गर्छन्।
नाम शिव काफ्ले। तर चिन्नेहरूले ‘काफ्ले बा’ भनेर पुकार्छन्।
उसो त ‘काफ्ले बा’को अनुहार जहिल्यै हँसिलो हुन्छ। गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जिउ थकितै किन नहोस्, मुस्कुराउन छाड्दैनन् उनी।
डेढ दशक भयो, ‘काफ्ले बा’ले पिँठ्युमा कपडा बोकेर उकाली ओराली गर्न थालेको। ढाका टोपी र इस्टकोटकमा सजिएर पिँठ्युमा राडीपाखी, गलैँचा बोकेर उनी गाउँगाउँमा हाजिर हुन्छन्।
के काफ्ले बा यो घुमन्ते व्यापारसँग खुसी छन्?
‘अलिअलि रहर, रहर भन्दा बढी बाध्यता,’ पसिनाले भिजेको अनुहार पुछ्दै उनी सुनाउँछन्।
काफ्ले बा उमेरले ५० दशक काटे। उमेरको उकालोसँगै उनी गाउँका उकालोहरू चढ्न छाडेका छैनन्। अहिले उनि पाल्पाको रामपुरमा कोठाभाडा लिएर यस आसपासका स्थानमा व्यापारका लागि पुग्छन्।
सुरुवाती वर्षहरूमा भारतको अलमुढा, नैनताल, बागेश्वर, गढवाल, हिमाञ्चल, पिथरागढ, चम्पाव, डिडिहाटलगायत बजारमा उनले राडीपाखीको व्यापार गरे।
अनि नेपाल फर्किए। पोखरा, पर्वतको कुश्मा, बुटवल, तानसेनलाई व्यापारको केन्द्र बनाए। तानसेनमा व्यापार गर्ने क्रममा उनी रामपुर पुगे। तानसेनमा व्यापार अलि कम हुन थाल्यो, तानसेनका एक जना बाले भने, ‘यहाँ व्यापार व्यवसाय कम छ, त्यहाँका गाउँगाउँमा राम्रो व्यापार हुन्छ।’
‘मैले त्यही आशामा २०६८ सालतिर रामपुर आएर व्यापार सुरु गरेँ,’ उनले भने। र काफ्ले बाको त्यही व्यापार निरन्तर छ।
रामपुरमा सुरुआतमा राम्रो व्यापार त भयो। तर पछिल्ला वर्षमा घटे। रामपुरमा व्यापारिक पसल बढ्दै जादा घुमन्ते व्यापारमा असर पुगेको उनको अनुभव छ।
पछिल्लो समय गाउँघरमा हुने मेला महोत्सवले गर्दा पनि व्यापारमा कमी आएको उनको बुझाइ छ। उनको मुख्य व्यापार भनेको राडीपाखी हो। तर अहिले बढीमात्रामा गलैँचा, तन्नाको व्यापार हुन्छ।
गाउँमा कहिलेकाहीँ आउने व्यापारीले स्थानीयलाई ठग्दा आफूहरु जस्ता घुमन्ते व्यापारीप्रतिको विश्वास कम भएको उनको अनुभव छ। सुरुआती दिनमा गाउँगाउँमा पुग्दा डर, धम्की भोग्नुपरे पनि अहिले त्यसो नभएको उनको अनुभव छ।
उनी भन्छन्, ‘सबैले आफ्नै परिवारको सदस्यको व्यवहार गर्नुहुन्छ, राम्रोसँग चिन्नुहुन्छ, चलेको दरभाउअनुसार व्यापार गरिरहेको छु, दुई पैसा अहिलेसम्म ठगेर व्यापार गरेको छैन, सबैको माया र साथ पाएको छु, यहाँ बस्न ढुक्क छ, कसैको डर, धम्की छैन, त्यही भएर अन्यत्र ठाउँको तुलनामा रामपुरमा धेरै समय बसिरहेको छु।’
पहिला दिनमा रु २० हजारसम्म कमाई गर्ने गरेकामा अहिले व्यापार घटेर दिनमा बढीमा रु चार हजार जति कमाइ हुने गरेको उनी बताउँछन्। ठूलो सपना छैन, सामान्य खाना, लाउन पुगेकामा यसमै खुसीका साथ जीवन बिताइरहेको उनले बताए। राडीपाखीका सामान जुम्लाबाट खरिद गरेर ल्याउँछन् भने अन्य सामान काठमाडौँबाट खरिदगरी व्यापार गरिरहेका छन्।
जुम्लामा राडीपाखी लिन उनी चार/चार महिनामा जान्छन्। काठमाडौँमा महिनामा एक पटक पुग्छन्। राडीपाखी विशेषगरी पूजाआजामा प्रयोग गरिने भएकाले बजारका सामानभन्दा राडीपाखी नै ग्राहकले रोज्ने गरेको उनको अनुभव छ। राडीपाखी भेडाको ऊनबाट बनेको हुनाले पूजाआजाका लागि चोखो हुन्छ भन्ने विश्वास छ।
काफ्लेको परिवारमा श्रीमती, एक छोरी, दुई छोरा छन्। उनीहरुको पालनपोषण, पढाइ खर्च काफ्लेको काँधमा छ। एक व्यक्तिको घुमन्ते व्यापारको कमाइले परिवारको गुजारा अहिलेसम्म चलेको उनि बताउँछन्।
जेठो छोरो स्नातक अध्ययन पूरा गरी अहिले लोकसेवा आयोगको तयारीमा छन्। कान्छो छोरो एसइई उत्तीर्ण गरेपछि वैदेशिक रोजगारीका लागि कोरियन भाषा पढ्दैछन्। छोरी कक्षा ११ मा गाउँकै स्कुलमा अध्ययनरत रहेको उनले जनाए।
‘अहिले छोराछोरी हुर्केबढेसँगै परिवारको खर्च बढ्दै गयो, थोरै खर्चले घरखर्च धान्न मुस्किल छ, व्यापार भने पहिलाको तुलनामा घट्दैछ, एक व्यक्तिको कमाइले जीविका चलाउन हम्मेहम्मे परेको छ, बाध्यताले गाउँगाउँमा राडीपाखी, गलैँचालगायतका कपडा बोकेर व्यापारमा हिँडेछु’, उनले भने।
बाउबाजेको पालादेखि नै चलिआएको यो पेसा उनले अहिलेसम्म पनि निरन्तरता दिइरहेका छन्। यसरी व्यापार गर्ने हिजोआज पुराना व्यक्तिले छाड्दै गएका छन्।
बाउबाजेले गरेको पेसा आजसम्म धान्दै आउनुभएका काफ्ले यो पेसा आफ्ना सन्ततिलाई हस्तान्तरण गर्न इच्छुक छैनन्। परिवारको आर्थिक अवस्था कमजोर हुँदा पढ्ने रहर भए पनि पढ्न नपाएको उनको गुनासो छ।
कक्षा १० सम्म पढ्नु भएका काफ्ले आफूले दुःख गरेरै भएपनि छोराछोरीको उज्ज्वल भविष्य बनाउने सपना बुनेर गाउँगाउँमा व्यापारमा खटेका छन्। अहिले उनले रामपुरका अलवा पाल्पाकै पूर्वखोला, रम्भा, बगनासकाली गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, मालुङ्गा, मिर्मी, बयरघारी, वालिङ, चिन्नेबास, गल्याङका गाउँसम्म व्यापार गर्छन्।
घुमन्ते व्यापारमा उहाँको साथमा पहिला दुई/तीन जना साथी थिए, अहिले भने उनी एक्लै छन्। उनीसँगै व्यापार गर्ने साथीहरु पछिल्ला समय सन्तोषजनक व्यापार नभएपछि यो व्यवसाय छाडेर गएका छन्। लामो समयसम्म रामपुरमा व्यापार गर्दै आएका काफ्लेले अब अर्घाखाँची र गुल्मी जिल्लामा पुगेर व्यापार गर्ने सोच बनाएका छन्।
उनको गाउँ जुम्लाबाट व्यापार गर्ने थलो पाल्पा रामपुर आउन वा रामपुरबाट जुम्ला जान एकतर्फी मात्रै तीन दिनको यात्रा गर्नुपर्छ। जुम्लाबाट सुरु गरेको यात्रा कालिकोट, दैलेख, सुर्खेत, कोहलपुर र बुटवल हुँदै पाल्पा रामपुर आइपुगिन्छ। त्यहाँबाट सामान यहाँसम्म ढुवानी गर्न सहज छैन। रासस

