काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बोलीमा सही थपेका छन्।
प्रचण्डले आफ्नो पार्टीप्रति पछिल्ला दिनमा जनताको आकर्षण बढेको दाबी गरेपछि वर्षमानले पनि प्रचण्डकै दावीलाई दोहोर्याएका हुन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले माओवादी जनताको बीचमा थप स्थापित हुँदै गएको र आकर्षण बढेको जिकिर गरेका हुन्।
माओवादी केन्द्रको विषयमा चिन्ता नगर्न र सङ्ख्या नतोक्न आग्रह गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता पुनले आगामी दिनमा आफूहरु थप सबल र सक्षम बन्ने विश्वास व्यक्त गरे। नेपाली जनतालाई मूर्ख नठान्न र नहेप्न सबैप्रति उनले सचेत गराए।
आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले लोकतन्त्रको सर्भिसिङ र रि–ब्राण्डिङ गर्न सुरु गरेको, सुशासनका पक्षमा प्रभावकारी कदम चालेको नेता पुनको कथन थियो।
भ्रष्टाचार, राज्य दोहनविरुद्ध पूर्ववर्ती सरकारले प्रभावकारी कदम चालेको र त्यसलाई नेपाली जनताले आत्मसात् गरेको नेता पुनको भनाइ छ। कार्यक्रममा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।
‘प्रचण्ड’ले गत बुधबार आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको दाबी गरेका थिए। महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष दाहालले पार्टीको ‘एजेण्डा’ र त्यसकै आधारमा पार्टी नेतृत्वको सरकारले गरेका कामका कारण पार्टीप्रति आकर्षण बढेको जिकिर गरेका थिए। प्रचण्डको सोही भनाइलाई वर्षमानले दोहोर्याएका हुन्।
‘पहिचानका पक्षमा लड्ने पार्टीका रूपमा माओवादी केन्द्र स्थापित भएको छ, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हाम्रो पार्टीले अघि सारेको सुस्पष्ट एजेण्डाका कारण अहिले देशैभरि फेरि एकपटक माओवादी केन्द्रप्रति आकर्षणको बढेको छ’, उनको भनाइ थियो।


