काठमाडौँ- आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पटकपटक सरेर पनि नबसी स्थगित भएको छ।
दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठक सुरुमा २ बजेका लागि सारिएको थियो। तर उक्त समयमा पनि बैठक बस्न सक्ने वातावरण नबनेपछि दिउँसो ३ बजेर १५ मिनेटका लागि सारिएको बैठक उक्त समयमा पनि बस्दै नबसी स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले विशेष कारणले बस्न नसक्ने भएको भन्दै सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक सारिएको सूचना जारी गर्न लगाएका हुन्।
प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने भनेर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले चेतावनी दिएपछि सभामुख देवराज घिमिरेले बैठक नराखी स्थगित गरेका हुन्।
यसअघि आइतबार बिहान मात्रै सदनको अवरोध खुलाउनका लागि सभामुखले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए। तर माओवादीले अडान नछोडेपछि बैठक पटकपटक सर्दै आएको हो।
प्रतिनिधिसभाको यसअघिको बैठकमा ‘तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित सशस्त्र सङ्घर्षलाई सत्तारुढ नेकपा (एमाले)का सांसदले योगेश भट्टराईले ‘माओवादी हिंसा’का रुपमा टिप्पणी गरेका थिए। उक्त शब्द असंसदीय भएको भन्दै माओवादीले विरोध जनाएको थियो।
माओवादीको विरोधपछि उक्त शब्दका विषयमा ध्यानाकर्षण भएको बताएका सभामुख देवराजले भदौ २६ गते उक्त शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएपछि माओवादी सभामुखप्रति पनि आक्रामक छ।
‘माओवादी हिंसा’ असंदीय र असंवैधानिक भएको भन्दै माओवादीले यसअघि भदौ २६ कै बैठकमा अवरोध गरेको थियो। माओवादीको अवरोधपछि ३० गतेका लागि सारिएको बैठक पटकपटकको प्रयासमा पनि बस्न नसकेपछि सोमबारका लागि सारिएको हो।
माओवादी केन्द्रले संसद् बैठकमा प्रस्तुत भएको ‘माओवादी हिंसा’ भन्ने शब्द रेडर्कबाट नहटाएसम्म बैठक चल्न नदिने बताउँदै आएको छ।


