काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको निष्कर्षसहित सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रतिवेदन तयार पार्दैछ।
आइतबार राति अबेरसम्म बसेको समितिको बैठकले लामिछानेले सहकारीको रकम अपलचन गरेको निष्कर्ष निकालेको समितिका एक सदस्यले जानकारी दिए। ‘लामो चलेको बैठकमा रास्वपा र माओवादीका सदस्यले सभापति लामिछानेको नाम किटान गर्ने कुरामा आनाकानी गरिरहनुभएको थियो तर प्राप्त प्रमाणका आधारमा छलफल भएपछि उहाँहरु पनि एक हिसावले दोषीका रुपमा नाम उल्लेख गर्ने कुरामा सहमत देखिनुभयो’ संसदीय छानबिन समितिका ती सदस्यले भने, ‘समितिले दिने प्रतिबेदन कार्यान्वयनमा गएमा रविजी अफ्ठेरोमा पर्ने निश्चित छ।’
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र सञ्चालक छविलाल जोशीले संयुक्त खाता सञ्चालन गरी कर्मचारीलाई तलब भत्ता समेत सहकारीबाटै खुवाएको प्रमाण समितिमा आइपुगेको दाबी गरिएको छ। रास्वपा सभापति रवि लामिछानेले गोर्खा मिडियाको तत्कालिन प्रबन्ध निर्देशकका रुपमा बैकमा केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गरेको पुष्टि भएकाले लामिछानले दोषमुक्त नभएको ठहर समितिको छ। समितिको निष्कर्ष छ, ‘सहकारीकै पैसाले गोर्खा मिडिया खोलेको देखिन्छ। त्यही पैसाले तलब भत्ता खुवाएको देखिन्छ।’
सहकारीको पैसा मिडियामा लगानी गर्नु आफैंमा पनि नियम विपरित भएकाले समितिले यो तर्कलाई केन्द्रमा राखेर, रवि, जिवी र छबी तीनै जनलाई ‘दोषी’ का रुपमा चित्रण गरेको छ। यद्यपी यसअघि सभापति लामिछानेले ऋण र लगानीका विषयमा आफूलाई केही थाहा नभएको जिकिर गर्दै आइरहेका थिए। समितिले उनले भन्दै आएको ‘थाहा नभएको’ कुरालाई पनि प्रमाणहरुले खण्डित गरेको निष्कर्ष निकालेको छ। समितिमा ९ घण्टा दिएको बयानमा पनि उनले यस्तै आफूलाई केही थाहा नभएको तर्क गरेका थिए।
संसदीय छानबिन समितिले सभापति रवि लामिछानेलाई दोषीको ‘लेन्स’मा राख्ने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उनीबारे केकस्तो प्रतिक्रिया दिन्छ भन्ने चासो सबैमा देखिएको छ। ‘यो विषय परिपक्व भइसकेको छैन। प्रतिवेदन आइसकेको छैन। यसमा बोल्नु छिटो हुन्छ’, रास्वपमा एक पदाधिकारीले भने, ‘प्रतिवेदन आओस् अनि छलफल होला।’
गोर्खा मिडियाका अध्यक्ष जीवी राइ भने यतिबेला मलेसियामा छन्। उनलाई नेपाल फर्काउने प्रयासहरु सफल भएका छैनन्। नेपाल प्रहरीका प्रतिनिधी मलेसिया नै पुगेर उनीबारे सोधखोज गरे पनि कानुनी अड्चनका कारण जीवीलाई नेपाल ल्याउन प्रहरी निष्फल देखिएको छ। यता, कास्की प्रहरीले पनि सहकारी रकम अपचलनका विषयमा रवीमाथि अनुसन्धान जारी राखिरहेको समाचार सतहमा आइसको छ।
