काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारी ठगीको आरोपमा ‘क्लिन चिट’ पाएँ भन्ने रास्वपा सभापति रवि लामिछानेको दाबी हास्यास्पद रहेको बताएका छन्।
गोर्खा मिडिया नेटवर्कको सञ्चालन नै सहकारीको पैसाबाट भएको समितिको प्रतिवेदनले देखाएको अवस्थामा रविले आफूलाई निर्दोष भनेर दाबी गर्नु हास्यास्पद भएको उनको भनाइ छ।
समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेपछि सोमबार संसद् परिसरमा पत्रकारहरूसँग कुरा गर्दै महतले गोर्खा मिडियाको सीईओका रूपमा लामिछाने नै जिम्मेवार हुनुपर्ने बताएका हुन्।
‘समितिको प्रतिवेदन कार्यार्थ सरकारलाई निर्देशन दिइसकेको अवस्थामा कसरी क्लिनचिट पाउनुभयो? समितिको संक्षिप्त प्रतिवेदनमा सहकारीको ८५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको छ, अन्य कहीँबाट लिएको छैन भनेपछि गोर्खा मिडियाको सीईओ जिम्मेवार हुँदैन?’ महतले प्रश्न गरे।
प्रतिवेदनले सहकारीको पैसा गैरकानूनी रूपले गोर्खा मिडियामा आएको र त्यसको परिचालनमा लामिछानेको संलग्नता देखिएको निष्कर्षसहितको प्रतिवेदन पेस गरेको छ। लामिछानेले सहकारी ठगीमा आफूले उन्मुक्ति पाएको दाबी गरेका छन्।
‘उहाँ स्वयंले म सहकारीको सदस्य होइन भन्नुभएको छ। गोर्खा मिडिया सञ्चालन, उहाँको तलब भत्ता सहकारीको पैसाबाट रहेको छ। जिम्मेवारीको तहमा रहँदा पैसा आएको छ। लिनै नमिल्ने पैसा लिएर सञ्चालन गर्नुभएको छ। अझै दोषी होइनौं भनेर निर्धक्कसँग भन्ने कुरा हास्यास्पद छ,’ महतले भने।


