काठमाडौंँ- मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेक सबै सेयर किन्ने भएको छ।
यससम्बन्धी प्रारम्भिक सम्झौतामा एनसेल र क्लासिकटेकका प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन्। प्रतिकित्ता ९० रुपैयाँका दरले क्लासिक टेक कम्पनीका सबै सेयर एनसेलले उठाउने भएको हो।
योसँगै अब एनसेलसँग मोबाइल र इन्टरनेट दुवै प्रकृतिका सेवा रहने भएका छन्। यसअघि नेपाल टेलिकमसँग मात्र दुवै प्रकृतिका सेवा थिए। टेलिकमा अधिकांश सेयर सरकारको छ। अब सरकारी र निजी क्षेत्रका यी दुई कम्पनीबीच अझ बढी प्रतिस्पर्धा हुने भएको छ।
‘एनसेलले सबै सेयर किन्ने भएसँगै क्लासिक टेकका लगानीकर्ता बाहिरिने भएका छन्,’ स्रोतको दाबी छ।
एनसेलले अन्तिम पटक टेलिकम लाइसेन्स नवीकरण गरेको केही सयमा नै क्लासिकटेकलाई अक्वायर गरेको हो। एनसेल इन्टरनेट सेवामा प्रवेश गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार क्लासिक टेकका फाइबर इन्टरनेट प्रयोगकर्ता १ लाख ६२ हजार ४५७ र वायरलेस ७०३ गरी कूल १ लाख ६३ हजार १६० ग्राहक छन्। नेपालको इन्टरनेट बजारमा क्लासिक टेकको हिस्सा ५.७९ प्रतिशत छ।
क्लासिक टेकले सन् २०२१/२२ मा ८७ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो। त्यसअघिका दुई वर्ष क्रमश: ८३ करोड ७० लाख र ६८ करोड ७० लाख रुपैयाँको व्यापार क्लासिकको थियो।


