काठमाडौँ- चालु आर्थिक वर्षमा विदेशी मुद्राको सञ्चिति लगातार बढ्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैतसम्मको तथ्यांकले विदेशी मुद्राको सञ्चितिको अवस्था सुविधाजनक अवस्थामा रहेको देखाएको हो।
चैतसम्मको विदेशी मुद्राको सञ्चितिले झन्डै साढे ९ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकले जानकारी दिएको छ। ६ महिनाभन्दा बढी अवधिसम्मका लागि पुग्ने सञ्चितिलाई सुविधाजनक भन्न सकिने राष्ट्र बैंकले बताउँदै आएको छ।
हाल राष्ट्र बैंकसँग १० अर्ब ९४ करोड डलर (१४ खर्ब ३३ अर्ब ७३ करोड नेपाली रुपैयाँ) बराबरको विदेशी मुद्राको सञ्चिति छ। गत साउनको तुलनामा सञ्चिति करिब १७.९ प्रतिशतले बढेको देखिएको छ। हालको सञ्चितिले ९.४ महिनाको वस्तु तथा सेवा र वस्तु मात्र आयात गर्दा ११ महिनासम्म पुग्ने राष्ट्र बैंकको अनुमान छ।
चालु आर्थिक वर्षमा आयात २६.३ प्रतिशतले घटेको, रेमिट्यान्स आप्रवाह २४.२ प्रतिशतले बढेको र पेट्रोलियम पदार्थको मूल्य २०.३ प्रतिशतले घट्दा सञ्चितिमा सुधार देखिएको राष्ट्र बैंकको दाबी छ।
विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएपनि उपभोक्ता मूल्य सूचचाङ्कमा आधारित मुद्रास्फीति लक्ष्यभन्दा उच्च देखिएको छ। चैत मसान्तसम्ममा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ भित्रिएको छ। यस अवधिमा चालु खाताघाटा ५१ अर्ब ८२ करोडले ऋणात्मक भएपनि शोधान्तरस्थिति १ खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ।
गत आर्थिक वर्षको यसै अवधिमा चालु खाता ५ खर्ब १० अर्ब रुपैयाँ र शोधनान्तर स्थिति २ खर्ब ६२ अर्बले ऋणात्मक रहेको थियो।


