काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद गगन थापाले संसदमा भइरहेको बजेटसम्बन्धी छलफल श्राद्धमा बिरोलो बाँधेजस्तो मात्र भएको टिप्पणी गरेका छन्। केही दिनमा नै बजेट छापिन लागेको तर अति ढिलो गरी संसदले छलफल थालेको भन्दै थापाले यस्तो टिप्पणी गरेका हुन्।
सिद्धान्ततः संसदले पारित गरेको बजेटका सिद्धान्त र प्राथमिकताका आधारमा नयाँ वर्षको बजेट बनाउनुपर्ने भएपनि मन्त्रालयहरूको बजेट लक भइसकेको अवस्थामा संसदले प्रतिवेदन बनाउने गृहकार्य गरेको भन्दै संसदमा भएको छलफल आगामी वर्षको बजेटसँग नजोडिने उनको भनाइ थियो।
‘संसदको आज हामी प्रतिवेदन बनाउँछौँ। यो प्रतिवेदनमा आधारित भएर विनियोजन विधेयक बनाउनुपर्छ। तर के हामी यसरी गरन सक्छौँ? केही दिनमा बजेट छापिन्छ,’ प्रतिनिधि सभाको विशेष समयमा बोल्दै थापाले भने, ‘त्यसो भए हामीले यो छलफल किन गरेको? किनभने यसअघि पनि हामीले यसै गरी छलफल गर्ने गरेका थियौँ त्यही भएर मात्र गरेको। यो श्राद्धमा बिरालो बाँधेजस्तै भयो। यसलाई हामीले बदल्नुपर्छ। बदल्न सकिन्छ।’
थापाले कात्तिकबाटै बजेट निर्माण गर्न थाल्नुपर्ने प्रस्ताव समेत गरे। ‘कात्तिकमा स्रोत समितिको बैठक राखौँ, खर्चको सिमाना निर्धारण गरौँ। मंसिरमा विनियोजन विधेययको सिद्धान्त संसदमा प्रस्ताव गरियोस्। एक महिना संसदमा छलफल गरौँ। पुसमा संसदबाट पारित भएको सिद्धान्तका आधारमा मन्त्रालयले सिलिङ र मार्गदर्शन पाओस्। माघबाट मन्त्रालबाट प्राप्त कार्यक्रम सहित संसदमा आओस्, हामी छलफल गर्छौँ, अर्थ समिति लगायत अन्य विषयगत समितिमा पठाउँछौँ,’ उनले भने।
सांसद थापाले स्विडेनमा ७ महिना पहिले र न्युजिल्यान्डमा ४ महिना पहिले बजेट निर्माणबारे छलफल हुने बताउँदै त्यस्तो असल अभ्यास नेपालमा पनि गर्न सकिने उल्लेख गरेका थिए।


