काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने हल्ला फैलिएपछि रास्वपा कार्यालयमा ठूलो संख्यामा कार्यकर्ता पुगेका छन्।
लामिछानेलाई सरकारले पक्राउ गर्न लागेको भन्दै रास्वपाले पार्टीका कार्यकर्तालाई कार्यालयमा उपस्थित हुन निर्देशन जारी गरेपछि कार्यकर्ता भेला भएका थिए।
कार्यालयमा प्रहरी पनि उपस्थित भएपनि केही समयमा नै पछि हटेको थियो। यसपछि रास्वपाका नेताहरूले उपस्थित कार्यकर्तालाई सम्बोधन गरेका थिए।
कार्यालयमा पुगेका कार्यकर्ताले झुटो समाचार बनाएको भन्दै केही पत्रकारमाथि हुलहुज्जत गरेका थिए।
कार्यवहाक प्रवक्ता गणेश कार्कीले कार्यकर्तालाई संयमित हुन आग्रह गरेका थिए। यस्तै सांसद विराजभक्त श्रेष्ठले पनि संयमित बन्न आग्रह गरे।
अन्त्यमा रविले पनि कार्यकर्तालाई छोटो सम्बोधन गरे। आफूले केही पनि नबिराएकाले र नडराएको बताए।
‘रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन। मान्छे बचाएर आएको हो‚’ उनले भने।
आफू नडराएको र शिर ठाडो गरेर छाती ठड्याएर बसेको दाबी गरे।
कार्यालयमा कार्यकर्तालाई छोटो सम्बोधन गरेर उनी आफ्नै गाडीमा कार्यालयबाट बाहिरिएका छन्।
रवि बाहिरिने क्रममा कार्यकर्ताले चर्का नाराबाजी गरेका थिए।


