काठमाडौँ- नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा मनोज घिमिरे नियुक्त भएका छन्।
नवनियुक्त सीइओ घिमिरेले बिहीबार कम्पनीका अध्यक्ष रविनकुमार नेपालसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
शपथग्रहण कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य पनि उपस्थित थिए।
बैंक अफ एसिया (हालको एनआईसी एसिया बैंक)बाट आफ्नो बैंकिङ करियर सुरु गरेका घिमिरे यसअघि लक्ष्मी सनराइज बैंकमा कार्ड सर्भिस प्रमुख थिए।
उनीसँग बैंकिङ तथा डिजिटल भुक्तानी (कार्ड, क्यूआर मोबाइल बैंकिङ)मा १५ वर्षभन्दा लामो अनुभव छ। अध्यक्ष नेपालले घिमिरेको कार्यदक्षता र अनुभवले कम्पनीलाई अझै उचाइमा लैजाने विश्वास लिएको बताए।
स्मार्ट च्वाइस टेक्नोलोजिजले २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको छ। कम्पनीले भुक्तानी कार्ड, क्यूआर, मोबाइल बैंकिङ र अन्तर बैंक भुक्तानीका सेवाहरु प्रदान गर्दै आएको छ।
