काठमाडौँ- पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले हालसम्मको प्रगति विवरण माग गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासले अनुसन्धानको विवरण झिकाउन आदेश गरेको हो।
इजलासले जाहेरी दरखास्त र सो सम्बन्धमा हालसम्म भएका कामकारबाही सम्बन्धी सक्कलै फाइल पेस गर्न भनेको छ।
सर्वोच्चको संवैधानिक इजलासको सबैभन्दा पुरानो मुद्दा भएकाले बहस गरेर अन्तिम फैसला सुनाउने भन्दै सुनुवाइ गरेको थियो ।
काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटासमेतको संलग्नता रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्।
त्यस्तै सोही मुद्दामा सापकोटामाथि कारबाहीको माग गर्दै कनकमणि दीक्षित र सुशील प्याकुरेलसमेतले पनि रिट दायर गरेका थिए।
तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो।
माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो।
काभ्रे माओवादीको तत्कालीन नेतृत्वमा रहेका सापकोटा हत्यामा संलग्नता रहेको पीडित परिवारको दाबी छ।


