मकवानपुर: अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ। सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए।
यसैबीच, मकवानपुरको इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरी बजार नजिकैको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बेपत्ता भएको खबर आएको छ।
शनिबार बिहान कुलेखानी जलासय खोलेपछि खोलामा बाढी आएको थियो। खोलासँगै जोडिएको विद्यालयमा बालकहरुलाई सुरक्षित स्थानमा लैजाने क्रममा ६ जना बेपत्ता भएको जानकारी आएको विद्यालयका अध्यक्ष तथा एकेडेमीका संयोजक सुभाषचन्द्र ठकुरीले जानकारी दिए। उक्त विद्यालयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्षदेखि एकेडेमी सञ्चालन गरेको थियो ।
उता बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्। अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज विहान बाँधका दुई वटा ढोका खोलिएको थियो। विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ।
स्थानीय तह, सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए। साथै निरन्तरको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आउनसक्ने बाढी, पहिरो, डुबनलगायतको अवस्थालाई मध्यनजर गरी जिल्लास्थित सबै सुरक्षा निकायलाई उच्च सतर्क अवस्था राखिएको उनले बताए।


