काठमाडौँ– ‘सिधा कुरा’ डटकमले ‘डार्क फाइल’ नाम दिएर प्रकाशन तथा प्रसारण गरेका सामग्री भ्रामक रहेको सर्वोच्च अदालतले ठहर गरेको छ। उक्त कार्यमा संलग्न सबैलाई जेल सजाय हुने गरी सर्वोच्चले फैसलासमेत गरेको छ।
सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले ‘फेक अडियो’ बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना र प्रकाशन/प्रसारण गर्ने सिधा कुरा अनलाइनका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई ३-३ महिना कैद सजायको फैसला सुनाएको हो ।
सिधा कुरा अनलाइनको हकमा ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। अनलाइनले आफैं क्षमयाचना गरेमा ५ हजार जरिमाना मिनाहा हुने फैसलामा उल्लेख छ।
सिधा कुराका सञ्चालक र सम्पादकलाई लिखित निवेदन दिएर प्रसारित सामग्रीमा क्षमायाचना गरेमा ७ दिन मात्र जेल बसे हुने भएको छ। तिमल्सिनाले भने आफैँ फेक अडियो बनाएका कारण तोकिएको सजाय भुक्तान गर्नुपर्ने फैसलामा उल्लेख छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेशशर्मा पौडेल र बालकृष्ण ढकाल रहेको बृहत् पूर्ण इजलासले मुद्दाको किनारा लगाएको हो।
सिधा कुराले सर्वोच्च अदालतका न्यायाधीश, मिडिया सञ्चालक, कानुन व्यवसायीका सम्बन्धमा भ्रामक प्रचार सामग्री तयार पारी प्रसारण र प्रकाशन गरेको थियो। उक्त कार्यले अदालतको न्याय सम्पादनमा गम्भीर असर परेको भन्दै सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्द घिमिरेले सिधा कुराविरुद्ध अदालतको अवहेना मुद्दामा निवेदन दिएका थिए।
सिधा कुराले तयार पारेको अडियो सामग्री भ्रामक र असत्य भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएपछि त्यसकै आधारमा जिल्ला सरकारी वकिल कार्यालयले तिमल्सिना, कँडेल र ढुंगानाविरुद्ध साइबर अपराधसहित तीन कसूरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भइसकेको छ। यसमा अदालतले तीनै जनालाई धरौटीमा रिहा गरेको छ।
सर्वोच्चको आइतबारको फैसलासँगै कँडेल र ढुंगाना जेल चलान भएका छन्। एक्समा पोस्ट गर्दै ढुंगानाले आफू र कँडेल जेल चलान भएको जानकारी गराएका हुन्।
फैसलाको पूर्णपाठ


