काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। संयुक्त राज्य अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर ओली सोमबार ४:१५ बजे स्वदेश फर्किएका हुन्।
ओलीले महासभालाई सम्बोधन गरेका थिए।त्यसक्रममा आयोजित विभिन्न छलफलमा पनि उनी सहभागी बनेका थिए। प्रधानमन्त्री ओलीले जलवायु परिर्वतन, भूराजनीतिक द्वन्द्व र आर्थिक असमानताको सामना गर्न विश्वव्यापी एकताका लागि आह्वान गरेका थिए।
विश्व शान्ति र सुरक्षामा नेपाल थप योगदान गर्न तयार रहेको पनि जनाएका थिए। प्रधानमन्त्री ओलीले राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा सहयोग गर्न नेपाल सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।
अमेरिकामा रहँदा उनले अमेरिकी राष्ट्रपति जो बाइडेन, ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटघाट र द्विपक्षीय वार्ता गरे।
युएसएआइडीकी प्रमुख समान्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेसनकी सीईओ एलिस अल्ब्राइट र युएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनकी डेपुटी सीईओ निशा विस्वासलगायतसँग भेटवार्ता गरेका थिए।
प्रधानमन्त्रीको भ्रमण टोलीमा सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत छन्।
ओलीको स्वागतका लागि सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेललगायत विमानस्थल पुगेका थिए।







