काठमाडौँ- नेपाल भेटेरिनरी एशोसिएसन बाढी प्रभावित पशुपन्छीको औषधि उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। आइतबार अपिल जारी गर्दै एसोसिएसनले यस्तो माग अघि सारेको हो।
‘प्राकृतिक विपद पश्चात मानिस तथा पशुपन्छीमा फैलन सक्ने संक्रामक तथा महामारी जन्य रोगहरुको व्यवस्थापनको पूर्व तयारी गर्न, आवश्यक जनशक्ति परिचालन गर्न तथा औषधी उपचारको व्यवस्था गर्न नेपाल सरकारका सम्बन्धित निकायहरुलाई यस एशोसिएसन हार्दिक अनुरोध गर्दछ,’ एसोसिएसनले जारी गरेको अपिलमा उल्लेख छ।
पशुपन्छीको क्षतिको विवरण संकलन गरी कृषकलाई क्षतिपूर्तिको व्यवस्था गर्न र मरेका पशुपन्छीको उचित व्यवस्थापन गर्न पनि एसोसिएनको माग छ।
बाढी र पहिरोको चपेटामा परेका मानिस र पशुपन्छीको उद्धार, राहत तथा उपचारमा जुट्न पनि सबै सदस्यहरूलाई आग्रह गरिएको छ।



