काठमाडौँ–हिन्दु नेपालीहरुको महान चार्ड दशैं आजबाट सुरु भएको छ। दशैंको पहिलो दिन घटस्थापना हो। आजको दिन जमरा राख्ने कनम गरिन्छ। वैदिक विधिपूर्वक हरेक नेपालीको घर–घरमा दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसको साइत बिहान ९ बजेर १६ मिनेटमा छ।
पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ।
यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाइन्छ।
यसपालि टीका २६ गते रहेको छ। विजयादशमीका दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि ११ बजेर ३६ मिनेटको शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ।


