काठमाडौँ- नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि उम्मेदवारहरूको अन्तर्वार्ता स्थगित भएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी बिरामी परेकाले अन्तर्वार्ता रोकिएको हो।
अधिकारीको संयोजकत्वमा सिफारिस समिति छ।
उनी नै अस्वस्थ्य भएकाले अर्को सूचना प्रकाशिन नहुँदासम्म अन्तर्वार्ताका कार्यक्रम स्थगित गरिएको सिफारिस समितिले जनाएको छ।
नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकहरुमध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले शुक्रबार व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता गर्ने कार्यक्रम थियो।
संक्षिप्त सूचीमा कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा नवराज अधिकारी छन्।
सर्टलिस्टमा परेर पनि यसअघि तीन उम्मेदवार अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतिमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन।
नाम सिफारिस गर्न नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न समितिका तिनै सदस्य रहने गरी नयाँ सिफारिस समिति बनाएको थियो।
सर्टलिस्टमा परेका एक उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आदेश दिँदै ३० माघका लागि पेसी तोक्यो । तर, पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिका लागि बाटो खुला छ।
धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ।
अर्थ मन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने महेश बरालले अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।
यद्यपि सार्वजनिक निष्कासन लगायत बोर्डका धेरै कामहरू प्रभावित भएका छन्।


