काठमाडौंमा आज सत्तारुढ दल नेकपा एमालेको जागरसभा आयोजना हुँदैछ।
एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा हुन लागेको हो।
जागरण सभाअघि विभिन्न ठाउँबाट निकालिएको र्याली दरबारमार्ग पुग्ने कार्यक्रम छ। भद्रकालीबाट सुरू हुने र्याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने बताइएको छ।
मुलुकमा बढ्दो अराजकता, अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ सभा गर्न लागेको एमालेले जनाएको छ।
माइतीघरमा केही दिन अघिदेखि नै सहकारी पीडितहरूको प्रदर्शन जारी छ। शुक्रबार नेकपा (एमाले) र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले काठमाडौंमै प्रदर्शन गर्दैछन्।
एकैदिन तीन ठाउँमा फरक फरक समूहको प्रदर्शन हुने भएपछि शुक्रबार काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ।


