काठमाडौँ- मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ।
आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको आयोजनाको लगानीकर्तामध्येको एक कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले जनाएको छ। गत महिना चीनको एक्जीम बैंकसँग कर्जा सम्झौता भएको थियो।
सम्झौताअनुसार एक्जिम बैंकले एक अर्ब २४ करोड २५ लाख चिनियाँ युआनअर्थात् १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर ऋण लगानी गर्नेछ। बाँकी ऋण रकम अन्य स्रोतबाट जुटाइएको छ। आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर (४३ अर्ब ६५ करोड रुपैयाँ) रहेको छ।
आयोजनामा बुटवल पावर कम्पनीसँगै चिनियाँ कम्पनीहरू एसीआईजी इन्टरनेशनल लिमिटेड, सिङचेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइइसी इन्टरनेशनल कम्पनी लिमिटेड र सो कम्पनीहरूको संयुक्त लगानीको एसिआइजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट इन्भेष्टमेन्ट कम्पनीको लगानी छ।
आयोजनाको निर्माण चीनको सिनोहाइड्रो ब्युरो सेभेन कम्पनी लिमिटेडले र निर्माण सुपरीवेक्षण सोही नर्थवेष्ट इन्जिनियरिङ कम्पनीले गरिरहेको विज्ञप्तिमा जनाइएको छ। आयोजना निर्धारित कार्ययोजनाअनुरूप ४२ महीनाभित्र सम्पन्न गर्ने लक्ष्य छ।
अर्धजलाशययुक्त आयोजना रहेको यो मनाङको चामे र नासों गाउँपालिकामा पर्दछ। यस आयोजनाको बाँध चामे गाउँपालिका–३ कोतोमा तथा विद्युत् गृह नासों गाउँपालिका–९ मा बनाइने कम्पनीले बताएको छ। आयोजना निर्माण सकिएपछि वार्षिक ७६६ गिगावाट (जीडब्लूएच) विद्युत् उत्पादन हुनेछ।
यी स्वदेशी तथा विदेशी कम्पनीको संयुक्त सेयर लगानीमा मर्स्याङ्दी नदीमा क्यास्केड अवधारणामा निर्माणाधीन तीन जलविद्युत् आयोजनामध्ये यो आयोजना पहिलो आयोजना रहेको विज्ञप्तिमा उल्लेख छ।
‘मनाङ र लमजुङमा अवस्थित अन्य दुई आयोजनामा १३९.२ मेगावाट क्षमताको लोअर मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना र ३२७ मेगावाट क्षमताको अपर मर्स्याङ्दी–२ जलविद्युत् आयोजना छन्,’ विज्ञप्तिमा भनिएको छ।
यी तीनवटै आयोजनाको कुल जडित क्षमता ६०१.२ मेगावाट र कुल लागत एक अर्ब २० करोड अमेरिकी डलर रहनेछ । उल्लिखित प्रत्येक आयोजना छुट्टाछुट्टै कम्पनीमार्फत निर्माण गरिने जनाइएको छ।


