काठमाडौँ– ११ महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेतृत्व पाएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो।
गत वर्ष पुष २० गतेदेखि खाली भएको सेबोन अध्यक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी नेतृत्वको समिति बनेको थियो।
समितिले सन्तोषनारायणका साथै सेबोनका कार्यकारी निर्देशकद्धय डा. नवराज अधिकारी र मुक्ति श्रेष्ठको नाम आइतबार सिफारिस गरेको थियो। समितिले गरेको सिफारिसको सूचीमा अधिकारीको नाम पहिलो, मुक्तिको नाम दोस्रो र सन्तोषनारायणको नाम तेस्रो नम्बरमा थियो।
यद्यपि यो क्रम अन्तर्वार्ता र प्रस्तुतिमा प्राप्त नम्बरका आधारमा नभई वर्णानुक्रमअनुसार थियो।
स्याङ्जाका स्थायी ठेगाना भएका उनले काठमाडौं विश्वविद्यालयबाट बीबीए र एमबीए गरेका छन्। उनीसँग विभिन्न वित्तीय संस्था र नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा बसेर काम गरेको अनुभव छ।
उनले स्वाभिमान लघुवित्त र नेपाल एक्सप्रेस फाइनान्सको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। एमाले उपाध्यक्ष विष्णु पौडेल ऊर्जामन्त्री हुँदा सन्तोषनारायण नेपाल विद्युत प्राधिकरणको सञ्चालक नियुक्त भएका थिए। सन्तोषले रुपन्देही चेम्बर अफ इन्डष्ट्रिजको कार्यकारी सदस्य भएर पनि काम गरेका छन्।
सेबोनका अध्यक्ष रमेशकुमार हमालको कार्यकाल गत पुस १९ गते सकिएको थियो।


