काठमाडौँ- रवि लामिछानेले तीन दर्जनभन्दा बढी चेक काटेर सहकारीबाट लिएको ऋणको ब्याज भुक्तानी गरेको विषय सार्वजनिक गर्दा आफूहरूमाथि भाला प्रहार भएको रास्वपाले टिप्पणी गरेको छ।
गोर्खा मिडिया नेटवर्कमा हुँदा सहकारीबाट लिएको ऋणको ब्याज भुक्तानीका लागि तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले काटेका चेक देखाएर रुपन्देही प्रहरीले बयान लिएको विषय सार्वजनिक भएपछि पार्टीका सहायक प्रवक्ता मनिष झाले यो विषयलाई लिएर आफूहरूमाथि प्रहार गरेको गुनासो गरेका हुन्।
‘ब्याजै तिरेको भएपनि यसको सर्पोटमा डकुमेन्ट आएको छैन। माइन्युटहरू बाहिर आएको छैन। अहिले यसमा डिबेट गरेर अतिरञ्जित गरेर काम छैन‚’ उनले भने।
उनले एमालेका सांसदसमेत रहेका कोशीका पूर्वमन्त्री लिलाबल्वभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णय सरकारी वकिलले गरेको विषय उल्लेख गर्दै लामिछानेमाथि प्रतिशोध साँधिएको कुरा प्रस्ट हुने दाबी गरे।
रास्वपा नेता गणेश पराजुलीले रविले चेक काटेको विषय सार्वजनिक गर्दा कुन कानुन टेकिएको भन्दै प्रश्न गरेका थिए।
‘सम्मानित अदालतमा लगेर कारबाही गरे भोग्न तयार भएको सभापतिले भन्नुभएको छ। यी विषयमा भ्रममा पर्न जरुरी छैन‚’ उनको भनाइ छ।


