काठमाडौँ- काठमाडौँ महानगरपालिका-१६ को वडाध्यक्षमा विजयी भएकी रोजिना श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेसँग भेट गर्ने भएकी छन्।
रास्वपाबाट पहिलोपटक वडाध्यक्ष निर्वाचित भएपछि उनले प्रहरी हिरासतमा रहेका आफ्नो दलका सभापति लामिछानेसँग भेटका लागि जान लागेकी हुन्।
सोमबारै वडाध्यक्षमा विजयी भएपछि उनले लगत्तै लामिछानेलाई भेट गर्न चाहेकी थिइन्। तर लामिछानेसँग सरकारी वकिलको कार्यालयमा बयान जारी रहेकाले समय नमिल्ने भएकाले साँझ ५ बजेका लागि भेटको समय तय गरिएको हो।
यसपालिको स्थानीय तह उपनिर्वाचनमा रास्वपा पहिलो पटक भाग लिएको हो। देशभर २३ स्थानमा उम्मेदवारी दिएको भएपनि रोजिनाबाहेक कुनै पनि रास्वपा उम्मेदवारले जित निकाल्न सकेनन्।
रोजिनालाई जिताउन सम्पूर्ण पार्टी पङ्क्ति परिचालन भएको थियो।
यसअघि भएका दुई वटा निर्वाचनमा कांग्रेसले जित निकालेको थियो। कांग्रेसका मुकुन्द रिजालको निधन भएपछि यो स्थानमा उपनिर्वाचन भएको हो।
