विराटनगर- कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त भएका छन्।
सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई मन्त्री नियुक्त गरेका हुन्। उनले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्।
भण्डारी एमालेका संसदीय दलका प्रमुख सचेतक पनि हुन्। उनी कानुनी पृष्ठभूमिका हुन्।
लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि आन्तरिक मामिला मन्त्रालय खाली थियो।
भण्डारी सुनसरी २ (१) बाट प्रदेशसभामा निर्वाचित भएका हुन्।
उनी मन्त्री बनेपछि एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री कार्कीले एमालेकाे प्रमुख सचेतकमा विदुर लिङ्थेपलाई नियुक्त गरेका छन्।
मन्त्रीमा शपथ लिएका भण्डारीले मन्त्रालयको कार्यक्षेत्रभित्र रहेर काम गर्ने प्रतिक्रिया दिए। ‘योजनाबद्ध र पारदर्शी ढंगले काम अगाडि बढाउने हो। कार्यक्षेत्रभित्र रहेर सुक्ष्म ढंगले विषयवस्तुलाई केलाएर काम हुन्छ,’ उनले भने।
नेकपा (एमाले) सुनसरीका निवर्तमान अध्यक्षसमेत रहेका भण्डारी संविधानसभाका सदस्य हुन्। कानुनका अध्येता उनी संघीयता आइसकेपछि तत्कालीन १ नं. प्रदेश सरकारको संविधान मस्यौदा समितिको संयोजक भएरसमेत काम गरिसकेका छन्।
२०५४ को स्थानीय निकायको निर्वाचनमा तत्कालीन इटहरी नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका भण्डारी २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा उठे। कांग्रेसका विजयकुमार गच्छदारले साढे २७ सय मतान्तरले पराजित गरे।
एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधरका भण्डारीलाई कार्यकर्ताहरूले अनुभवी नेता मान्छन्।


