विराटनगर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच सवालजवाफ चलेको छ।
विराटनगरमा पार्टीको कोशी प्रदेश सम्मेलनका लागि पुगेका सभापति देउवाले थापाप्रति ठट्यौली जवाफ दिएका हुन्।
शनिबार दिउँसो विराटनगरमा सम्मेलन महामन्त्री गगन थापाले सम्बोधन गरे।
सम्बोधनका क्रममा गगनले पार्टी सभापति ‘कम बोल्ने’ भनी टिप्पणी गरे।
गगनको उक्त टिप्पणीको जवाफ केहीबेरपछि सम्बोधनमा सभापति देउवाले दिइहाले।
‘हाम्रो महामन्त्रीजीले धेरै कुरा भनिसक्नुभएकै छ। तर म एउटा कुरा भन्छु,’ देउवाले भने, ‘म कम बोल्छु, बढी बोल्नेले आफूलाई सिध्याउँछ। कम बोल्नेले अरुलाई सिध्याउँछ।’
देउवाले बोली खस्ने बित्तिकै हलमा हाँसो गुञ्जियो। देउवाले थपे, ‘मैले ठट्टा मात्रै गरेको!’


