काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रदेशको कुल गार्हस्थ्य उत्पादनसम्बन्धी तथ्याङ्क प्रकाशित गर्दै गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने प्रक्षेपण गरेको हो।
चालु आर्थिक वर्षको ९ महिनाको तथ्याङ्कको आधारमा कार्यालयले गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ।
यस्तै, सबैभन्दा कम आर्थिक वृद्धिदर बागमती प्रदेशको हुने अनुमान कार्यालयले गरेको छ। चालु आर्थिक वर्ष बागमती प्रदेशको आर्थिक वृद्धिदर १.४ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ। गत आर्थिक वर्ष पनि गण्डकी प्रदेशको वृद्धिदर सबैभन्दा बढी ६.३५ प्रतिशत भएको थियो। सबैभन्दा कम मधेश प्रदेशमा ४.६ प्रतिशत रहेको कार्यालयको तथ्यांक छ।
औद्योगिक वर्गीकरणअनुसारको आर्थिक क्रियाकलापहरूलाई हेर्दा गत आव र यस आवमा बागमती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी छ। बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी छ। बागमतीमा बढ्दो सहरीकरण, बढी जनसंख्या, राष्ट्रिय तहका ठूला व्यापारिक कारोवारलगायतका कारणले थोक तथा खुद्रा व्यापारको योगदान बढी रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।
यसैगरी राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र कोशी, मधेश र लुम्बिनी प्रदेशमा दोस्रो हिस्सामै कायम छ। बागमती प्रदेशमा घरजग्गा सम्बन्धी कारोबार तथा आवास सेवाको हिस्सा दोस्रो छ।
गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो रहेको देखिन्छ। बागमती र मधेश प्रदेशबाहेक सबै प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिएको छ।
राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ५३ खर्ब ८१ अर्ब हुने अनुमान गरिएकोमा बागमती प्रदेशको सबैभन्दा धेरै १९ खर्ब ८१ अर्ब अर्थात ३६.८ प्रतिशत रहेको छ।
कुल गार्हस्थ उत्पादन सबैभन्दा योगदान कर्णाली प्रदेशको २ खर्ब २१ अर्ब अर्थात ४.१% रहेको छ। बागमती प्रदेशपछि कुल गार्हस्थ्य उत्पादनमा बढी योगदान क्रमशः कोशी, लुम्बिनी, मधेस, गण्डकी र सुदुरपश्चिमको छ।


