ललितपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकाले सोमबारबाट सञ्चालनमा ल्याएको इन्टिलिजेन्ट ट्राफिक लाइट (आईटीएल)को प्रशंसा गरेका छन्।
मंगलबार ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महानगरको सक्रियतामा भएको उक्त कार्यको प्रशंसा गरेका हुन्।
‘दुई चार वर्षअघि सम्म यो शब्दै पनि सुन्न नसकिने कुरा हो, इन्टिलिजेन्ट ट्राफक लाइट। शब्दै सुन्न नपाइने कुरा, ट्राफिक लाइट यसो रातो, पहेँलो बाल्न त गाह्रो थियो भने, यहाँ त इन्टिलिजेन्ट ट्राफिक लाइट भयो,’ कल्पनै गर्नै नसक्ने कार्य ललितपुर महानगरले गरेको र देश जहाँको त्यहीँ नभएको उल्लेख गर्दै भने, ‘यो त कल्पनै गर्न गाह्रो थियो। ललितपुर महानगरले हिजो सुरु गरिसकयो। अर्थात् हामी अगाािड बढिसक्यौं। अवस्था जहाँको त्यहीँ छैन।’
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सोमबारबाट उक्त लाइटको सुरुवात गरेका थिए। इन्टिलिजेन्स प्रणालीमा आधारित यी लाइटले जतापट्टि धेरै सवारीसाधन संख्या हुन्छ, त्यतैतिर हरियो बत्ती बल्छ।
कार्यालय समयमा काठमाडौँतर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३०-५० सेकेन्ड मात्रै पर्खे पुग्ने ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए।
लाइट जडान गरेको नमुना पावर ग्रेड जेभीले सुरुमा ११७ स्थानमा सम्भाव्यता अध्ययन गरे पनि हाललाई धेरै ट्राफिक हुने स्थानमा यो लाइट जडान गरिएको नगरप्रमख चिरिबाबु महर्जनले बताएका छन्।


