भक्तपुर- बालकोटस्थित एक घरमा बाबुछोराको हत्यामा संग्लन भएको आशंका गरिएका जेठा छोरा मिलन आचार्य आफैँ प्रहरीमा पुगेका छन्। आचार्य आफैँ प्रहरीवृत्त महाराजगञ्ज पुगेका हुन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक काजीकुमार आचार्यका अनुसार प्रारम्भिक सोधपुछका क्रममा आचार्यले अपराध स्वीकार गरेका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घरभई जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य सोमबार बिहान भाडाको घरको कोठामा मृत भेटिएका थिए।
दुई बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिए पनि सँगै बस्ने जेठा छोरा आचार्य भने सम्पर्कविहीन थिए।
छिमेकीले शनिवार साँझ तीनै जना बाबुछोरालाई सँगै खाना खाएको देखेपनि आइतबार दिनभर र सोमबार पनि कोठा खुलेको नदेखेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य गत मङ्सिर २८ गते बिदा लिएर बालकोटस्थित छोराहरू बस्दै आएको कोठामा आएका थिए।
दुईभाई छोरामध्ये जेठा छोरा मिलन स्नातक तह उत्तीर्ण गरेर लोकसेवाको तयारी गर्दै थिए भने कान्छा छोरा प्रवीण विज्ञान संकायमा स्नातक अध्ययनरत थिए।
बालकोट हत्या : दिक्तेल हुलाकका निमित्त प्रमुख थिए कुलप्रसाद, टिचिङ लगियो दुवै शव [तस्बिरहरू]


