काठमाडौँ- नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले वाइडबडी जहाज किन्दा नेपाली पक्षलाई घुस खुवाएको आरोपमा एक कम्पनीमाथि अमेरिकी सरकारले साढे ७ अर्ब जरिमाना गरेको छ।
अमेरिकी सरकारको सार्वजनिक मामिला कार्यालयले नेपाली पक्षलाई जहाज किनाउन घुस खुवाएको आरोपमा एएआर कर्पलाई ५५ मिलियन डलर (करिब सात अर्ब ४९ करोड २६ लाख रुपैयाँ) जरिमाना गरेको हो। कार्यालयले विज्ञप्ति जारी गरी यस्तो जानकारी गराएको हो।
कम्पनीका अनुसार एएआर कर्पले ‘सन् २०१५ देखि २०२० को बीचमा एएआरले नेपाल र दक्षिण अफ्रिकामा सरकारी स्वमित्वको एयरलायन्ससँग व्यापार प्राप्त गर्न र कायम राख्न सरकारी अधिकारीलाई घुस दिने षड्यन्त्र गरेको थियो’।
घुस दिएपछि कम्पनीले २४ मिलियन अमेरिकी डलरबराबरको व्यापार प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ। एएआरले विभिन्न बिचौलिया कम्पनीमार्फत नेपाली अधिकारीलाई घुस दिएको विज्ञप्तिमा भनिएको छ।
दुई वाइडबडी विमान ए३३०-२०० विमान बिक्री गर्दा भ्रष्टाचारको अभियोगमा एएआरलाई जरिवाना तिराएको हो। एएआरले नेपाल वायुसेवा निगमका तत्कालीन पदाधिकारीसँग मिलेर भ्रष्टाचार गरेको विज्ञप्तिमा उल्लेख छ।
