काठमाडौं- नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ। नेपाल राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समितिले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो।
यो सँगै कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा लिने भएको छ। राष्ट्र बैंक ऐनको दफा ८६ (ग) बमोजिम बैंकलाई नियन्त्रणमा लिइएको हो।

कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन सञ्चालनका लागि राष्ट्र बैंकले बैंक वित्तीय संस्था नियमन विभागको उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको छ।
वित्तीय संस्था सुपरीवेक्षण विभागका विष्णुकुमार विश्वकर्मा र कानून महाशाखाका उपनिर्देशक किशोर कुशवाहालाई सदस्य तोकिएको छ। समूहले पुस ११ बाट बैंकको जिम्मेवारी समाल्ने छ।
कर्णाली डेभलपमेन्ट बैंकले राष्ट्र बैंकले तोकेबमोजिम न्यूनतम पुँजीकोष अनुपात कायम गर्न सकेको थिएन। बैंकको निष्कृय कर्जा बढेर ४०.८५ प्रतिशत पुगेका थियो।
समस्याग्रस्त भएसँगै कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार बिहीबारबाटै रोकिने भएको छ।
राष्ट्र बैंकको सञ्चालक समितिले कर्णाली डेभलमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै कारोबार रोक्का गर्नका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पत्र पठाएको छ।
बैंकमा समस्या देखिएपनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस बैंकको सेयर ८३३ रुपैयाँ प्रतिकित्ता कारोबार भइरहेको छ।
मंगलबार मात्रै बैंकको सेयर ३३ रुपैयाँले बढेको थियो।


