काठमाडौँ- सन् २०२४ को ११ महिनाको अवधिमा काठमाडौँ विमानस्थलबाट झन्डै ८२ लाख व्यक्तिले उडान सेवा लिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२४ को जनवरी देखि नोभेम्बर महिनासम्ममा ८१ लाख ७२ हजार ८९० जनाले उडान सेवा लिएका हुन्।
काठमाडौँस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक र बाह्य दुवै गन्तव्यमा उडान गर्दै आएको छ। विमानस्थलबाट आन्तरिक भन्दा बढी व्यक्तिले बाह्य उडान सेवा लिएका छन्। अन्तर्राष्ट्रिय उडान सेवाको लिने व्यक्तिको संख्या ४४ लाख ४५ हजार २३९ छ। यीमध्ये २० लाख ६६ हजार ३४४ जना काठमाडौँ विमानस्थल हुँदै विदेशबाट नेपाल प्रवेश गरेका छन् भने २३ लाख ७८ हजार ८९५ जनाले नेपालबाट विदेशको यात्रा तय गरेका छन्।
त्रिभूवन विमानस्थलकै आन्तरिक तर्फ ३७ लाख २७ हजार ६५१ जनाले उडान सेवा लिएका छन्। नेपालकै अन्य स्थानबाट उडान सेवा सुरु गरेर काठमाडौँ आउनेको संख्या १८ लाख ५३ हजार ६७७ छ। काठमाडौँबाट नेपालकै अन्य गन्तव्यमा भने १८ लाख ७३ हजार ९७४ जनाले उडान भरेका छन्।
विमानस्थलमा आन्तरिकतर्फ कुल ८४ हजार ९७१ उडान भएका छन्। अन्तर्राष्ट्रियतर्फ भने ३० हजार ६३० वटा उडान भएका छन्। सन् २०२४ को पहिलो ११ महिनामा १५ हजार २६८ वटा विमान विभिन्न देशबाट नेपालमा आएका छन् भने नेपालबाट विदेश जाने उडानको संख्या १५ हजार ३६२ छ।
यस्तै विमानस्थलको आन्तरिकतर्फ देशका अन्य विमानस्थलबाट काठमाडौँ आएका उडानको संख्या ४२ हजार ३८९ छ। काठमाडौँबाट देशका अन्य विमानस्थलमा गएका उडानको संख्या भने ४२ हजार ४०२ छ।
यो अवधिमा विदेशबाट नेपालमा १ करोड ५ लाख ६१ हजार किलो कार्गो भित्रिएको छ भने १ करोड १४ लाख ३० हजार किलो कार्गो बाहिरिएको छ। यस्तै आन्तरिक तर्फ विमानस्थल भित्रिएको कार्गोको परिमाण ८ लाख ८५ हजार किलोग्राम छ भने काठमाडौँबाट देशका अन्य स्थानमा गएको कार्गो भने २० लाख १३ हजार किलोग्राम छ।


