काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईको निवासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतम पुगेकी छन्। मंगलबार बिहान सोबिता दम्पती बाबुराम दम्पतीसँग भेटका लागि पुगेका थिए।
भेटमा वैकल्पिक राजनीतिलगायतका विषयमा छलफल भएको डा बाबुरामले फेसबुकमा लेखेका छन्।
‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तिसँग देशको अर्थ-राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श,’ दुई जोडीको फोटो पोस्ट गर्दै डा बाबुरामले लेखेका छन्।
बाबुरामले देशलाई वैकल्पिक शक्ति आवश्यक रहेको बताउँदै आइरहेका छन्।
बाबुरामले पोखरा हिरासतमै पुगेर रास्वपा सभापति रवि लामिछानेलाई भेटेका थिए। यसपछि बाबुरामले नयाँ शक्तिहरूमाथि सरकारले प्रतिशोध साँधेको टिप्पणी गरेका थिए। यसपछि रास्वपाका नेताहरू बाबुरामप्रति सकारात्मक बन्न थालेका छन्।


